निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छः प्रधानमन्त्री

रासस


काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी मुलुकमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण तागत लगाएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । “प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनुहुँदैन । अब त खासमा यो एउटा जीवनशैली हो । यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले लोकतन्त्र केवल प्रक्रिया मात्र नभएको उल्लेख गर्दै यसले नतिजा दिनुपर्छ भन्नुभयो । “विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो”, उहाँले भन्नुभयो ।
वर्तमान सरकारले जेनजी आन्दोलनको आवाजलाई गम्भीरतापूर्वक लिएको जनाउँदै प्रधानमन्त्रीले सुशासन, पारदर्शीता, समन्याय र जवाफदेहितालाई व्यवहारमा रूपान्तरण गर्ने दिशामा सरकारका प्रयास अभिमुख भइरहेको स्पष्ट पार्नुभयो ।
प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गरोस् भन्दै प्रधानमन्त्रीले राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्नेमा जोड दिनुभयो । “हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो । ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरु खाली हुनुको प्रमुख कारण पनि यही नै हो”, उहाँले भन्नुभयो ।

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

अरुपनि पढ्नुहोस
सबै
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी
















