राष्ट्रपतिको चासो रहेको पुल अलपत्र : कुलमानको चेतावनी- एक महिनामा काम नभए ठेक्का तोड्छौं

रासस


भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन्।तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको बारेमा राष्ट्रियस्तरमा चर्चा रहेको बताउँदै काम नगर्ने भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरे। उनले भने, ‘घुमाउने पुल जसरी पनि निर्माण गर्नुपर्नेछ। यहाँ राष्ट्रपतिको पनि चासो छ। काम गर्नुस्, नगर्ने भए भन्नुस्।’मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिएका हुन्। उनले भने, ‘पुरानै डिजाइनमा पनि नौ वर्षसम्म किन काम नगर्नुभएको ? विकास निर्माणमा ढिलासुस्ती सह्य हुँदैन।’
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो।
एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ। मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो। बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ। सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो। गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ। घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन्।

तनहुँको आँबुखैरेनीमा सामूहिक प्रयासमा फूलखेती

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

एनपीएल : सोमपाल र गुलशनले कर्णाली याक्सलाई जिताए, विराटनगर किंग्सको दोस्रो हार
अरुपनि पढ्नुहोस
सबै
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

झापामा राष्ट्रिय परिचयपत्र वितरण तीव्र: साढे चार लाखले पाए कार्ड, एक लाख वितरणको पर्खाइमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
















