समाचार

कोल्टीमा राष्ट्रिय परिचयपत्र सेवा पाँउदा कुण्डा वासी खुशी

उमेश रोकाया
२०८२ मंसिर ४ | बिहान ०८:०८ बजे

बाजुरा । बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र सेवा सुरु गरिएको छ । बुढीनन्दा नगरपालिका कोल्टी राष्ट्रिय परिचयपत्र सेवा आउँदा कुण्डा क्षेत्रका स्थानीय नागरिकले सदरमुकाम मार्तडी धाउनुपर्ने झन्झटबाट मुक्त हुने भएका छन् । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराका अनुसार कुण्डा भेगमा रहेका चार स्थानीय तहका बासिन्दालाई लक्षित गर्दै सेवा विस्तार गरिएको हो । नागरिकलाई राष्ट्रिय परिचयपत्र नजिकबाट प्राप्त हुँदा सजिलो र छिटोछरितो सेवा पाएका छ्न ।

‎सदरमुकाममा भीडभाड र दूरीका कारण नागरिकले वर्षौंदेखि भोग्दै आएको कठिनाइलाई समाधान गर्ने उद्देश्य सहित सेवा विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो । राष्ट्रिय परिचयपत्र वितरणका लागि कोल्टी उपयुक्त ठाउँ भएकाले यसले हजारौँ नागरिकलाई राहत पुग्ने भएको छ । कोल्टीमा सेवा थालिएसँगै दैनिक १० देखि २० जना नागरिक परिचयपत्र बनाउन आउने गरेको कर्मचारी सन्तोषी विकले बताइन् ।

‎सेवा लिन आउने अधिकांश नागरिक उत्साहित भएका छन् । अब देखि बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकाका नागरिकहरूले कोल्टीमै राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्न सक्ने भएका छन् ।

‎साथै जिल्ला प्रशासन कार्यालय मार्तडी र कोल्टी दुवै स्थानबाट परिचयपत्र सेवा उपलब्ध हुने भएपछि नागरिकलाई विकल्प समेत खुलेको छ । दुर्गम कुण्डा क्षेत्रका मानिसहरूलाई जिल्लामा जान आउन समय, पैसाको खर्चिलो कम हुने भएको सरकारी सेवाप्रति विश्वास बृद्धि गर्ने अपेक्षा गरिएको छ ।
उमेश

कमेन्टहरु