अर्थ

तरकारी खेतीबाट युवाको समृद्धि : महेन्द्रले दिए ३८ जनालाई रोजगारी

दिप्शन गुरुङ
२०८२ बैशाख २९ | मध्यान्ह ०२:०१ बजे
 

खड्काले १० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। बाबुको पेसालाई प्रेरणा मानेर सुरुमा सानो स्तरमा खेती गरेका उनले पछि व्यावसायिक रूपमा ठूलो परिमाणमा खेती गर्न थाले। 

आधुनिक खेतीका तरिका सिक्दै जाँदा उत्पादन हरेक वर्ष बढिरहेको उनको भनाइ छ। खेतीबाट धेरै अनुभव बटुलेको उनले बताए। ‘स्वदेशमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ गर्दै आएको तरकारी खेतीले राम्रो प्रतिफल दिँदै गएको छ,’ उनले भने, ‘कृषि पेसामा तरकारी खेतीमा धेरै सम्भावना देखेर यसलाई निरन्तरता दिँदै आएको छु, जसले उत्पादन बढिरहेको छ।’

राप्ती बवई एग्रिकल्चर प्रालिमार्फत सञ्चालित खेतीमा उनले बोडी, काक्रा, करेला, टमाटरलगायत तरकारी उत्पादन गर्छन्। पहिले रोल्पामा खेती गरे पनि ढुवानी र बजारको समस्याले दाङमा आएर व्यावसायिक खेती थालेको उनले बताए।

जग्गा भाडामा लिएर गरेको खेतीबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ। सानैदेखि यो पेसामा लागेका उनले अन्य काममा ध्यान नदिएको र यसैमा सन्तुष्ट रहेको बताए। 

खड्काले वार्षिक दुई करोडभन्दा बढी मूल्यको तरकारी उत्पादन गर्छन्। ‘जसबाट ३५ प्रतिशत बचत हुन्छ, जग्गा भाडामा वार्षिक पाँच लाख तिर्छु,’ उनले भने, ‘स्थानीयले फार्ममै काम पाउँदा खुसी छन्, कमाउन बाहिर जानुपर्ने अवस्था हटेको छ, भविष्यमा व्यवसाय अझ विस्तार गर्ने सोच छ।’
फार्ममा काम गर्ने स्थानीय गीता महराले घरनजिकै रोजगारी पाउँदा खुसी भएको बताइन्। तलब समयमै पाउने गरेको उनको भनाइ छ। रञ्जिता चौधरीले पनि दुई वर्षदेखि फार्ममा काम गर्दै परिवारको खर्चमा सहयोग पुगेको बताइन्। धेरै दुख नहुने र बाहिर जान नपर्ने उनको अनुभव छ।

स्वदेशमै तरकारी उत्पादनको सम्भावना हुँदा पनि वार्षिक करोडौँको आयात हुने गरेको छ। उत्पादन र बजारीकरणको समस्या नभएको अवस्थामा तरकारी खेतीलाई प्रोत्साहन गरी रोजगारी बढाउन तीनै तहका सरकारले ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ।

कमेन्टहरु