मुख्य समाचार

नवलपुरमा आतङ्क मच्चाउने पाटे बाघ नियन्त्रणमा

नवलपुर टुडे
२०८१ भदौ ३ | मध्यान्ह ०७:०५ बजे

नवलपुर, भदौ ३ । नवलपुरको बघुवनको गाउँ पसेर भैंसी बाख्रा मार्दै आतङ्क मच्चाउने बाघ समातिएकाे छ । साउन ३२ गते दिन दहाडै बघुवन गाउँ आतङ्कित पार्ने भाले पाटे बाघलाई लगातारको प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले आज साेमबार नियन्त्रणमा लिएको हाे ।

निकुञ्जको टोलीले डाट गरी नियन्त्रणमा लिईएकाे अन्दाजी ६ /७ वर्षकाे पाटे बाघ अर्को बाघसंग जुधेर घाइते रहेको अवस्थामा फेला परेको र उक्त बाघलाई उपचारपछि संरक्षित क्षेत्रमा छाडिने निकुञ्ज प्रशासनले जनाएको छ । बाघले शुक्रबार नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँपालिका- १ बघुवन गाउँमा पसेर स्थानीय लालमती खंगा मगरकाे २ बाख्रा र खेमबहादुर खंगा मगरकाे १ भैँसीलाई गाेठ भित्रै मारेकाे थियाे । 

बाघ गाउँ पसेर घरपालुवा जन्तु मारेपछि नियन्त्रणमा लिन गाउँबासीले वन प्रसासन र निकुञ्जकाे ध्यानाकर्षण गरेका थिए । स्थानीय सांसद, जनप्रतिनिधि र गाउँबासीकाे मागसंगै राष्ट्रिय प्रकृति संरक्षण काेष, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले बाघलाई नजिककै मदारबाबा सामुदायिक वनबाट नियन्त्रणमा लिएको हाे ।

कमेन्टहरु