अपराध

चितवनमा जलाउनुअघि स्थानीयले रेलमार्गको सर्भे गर्न गाडी कब्जा गरेका थिए

नवलपुर टुडे
२०८१ साउन २ | मध्यान्ह ०५:०४ बजे

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन पुगेको टोली सवार आरएस इन्जिनियरिङ सोलुसनको एउटा गाडीमा बुधबार आगजनी गरिएको छ । भरतपुर महानगरपालिका–७ का स्थानीयले वाग्मती प्रदेश०१ ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् ।

सर्भे गर्न बाराका २१ वर्षीय अजित बस्नेत र धादिङका ३५ वर्षीय गाडी चालक दिलीप तामाङ चितवन पुगेका थिए । उनीहरू रेलमार्गको गुगल म्याप सर्भे गर्न गएका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए । रेलमार्गको सर्भे बस्ती भएका ठाउँबाट गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए ।

त्यही बेला पुगेको उक्त टोलीको गाडीलाई सुरुमा स्थानीयले नियन्त्रणमा लिएका थिए । चालक तामाङका अनुसार, सर्भे गर्ने आवश्यक सामानसहित पुगेको गाडी स्थानीयले कब्जामा लिएका थिए । उनले भने, “सुरुमा स्थानीयले गाडी कब्जामा लिए । गाडीमा सवार आफूहरू समेत असुुरक्षित देखिएपछि प्रहरीले चौकीमा ल्याए ।

तर, गाडी भने स्थानीयकै कब्जामा राखे । त्यही गाडी आगजनी गरेका हुन् । मैले गाडी नै देख्न पाएको छैन ।”

कमेन्टहरु