मानव बेपत्ता सम्बन्धमा बम्जनलाई नुवाकोटमा कैद र जरिवानाको माग


नुवाकोट । दुई दशकदेखि बाल तपस्वी भनेर चर्चामा आएका रामबहादुर बम्जनलाई नुवाकोटमा कैद र जरिवानाको लागि मुद्दा दायर गरिएको छ। मानव बेपत्ताका विषयमा अधिकतम कैद र जरिवानाको सजाय माग दाबीसहित बिहीबार नुवाकोट अदालतमा बम्जन विरुद्ध मुद्दा दायर गरिएको हो। तपस्वीको भेष धारण गर्दै नेपालका विभिन्न जिल्लामा आश्रम सञ्चालन गरेका बम्जनलाई नुवाकोटकी महिला बेपत्ता बनाएको उजुरीका आधारमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। मुद्दा दायर गरिएका बम्जनलाई नुवाकोट जिल्ला कारागारमा राखिएको छ।
उनलाई नुवाकोटको म्यागङ गाउँपालिका-३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि अनुसन्धान गरी नुवाकोट जिल्ला अदालतमा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालय नुवाकोटमार्फत बयान लिएर बम्जनलाई कारबाहीको माग गर्दै मान बेपत्ता शीर्षकमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक तिलक भारतीको भनाइ छ।
बम्जनलाई गत २०६९ सालमा महिला बेपत्ता बनाएको दाबीसहित परिवारले उजुरी दिएका थिए। बम्जन बुधबार दिनभर विदुरस्थत सरकारी वकिलको कार्यालयमा उपस्थित गराइ सरकारी अधिकारीमार्फत बयान लिएर बिहीबार मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाको भनाइ छ।
बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले केहि साता अगाडि मात्र १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। नुवाकोटको म्यागङकी महिला बेपत्ता बनाएको छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले एक साता अगाडि नुवाकोट ल्याएर कारागारमा राखेको थियो।






















