धर्म–संस्कृति/रीतिथिति

कपिलवस्तुका पल्टुराम मगरका परिवार नै मूर्तिकला व्यवसायमा

रासस
२०८१ जेष्ठ ५ | बिहान ०९:०२ बजे

घोराही । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । 

वित्तीय संस्थाबाट तीन लाख रुपैयाँ कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । उनी आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताए ।  हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उनको भनाइ छ ।

“जिल्लामा सङ्ग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्”, उनले भने, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ ।” 

यही व्यवसायबाट पल्टुरामको परिवारले वार्षिक १२/१३ लाखको कारोबार गर्दै आएको छ । जसबाट छोरी, छोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउँछन् । 

पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव छ । यहाँ उत्पादित मूर्तिहरु दाङसहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत अन्य जिल्लामा समेत जाने गरेको छ । 

मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामकी श्रीमती जानकी मगर पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन् ।  उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहेका छन् । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरीहरु पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छ । 

कमेन्टहरु