भिजिट भिसामा कुवेत लगेर मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ


काठमाडौं, जेठ २ । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखाको पालुङटार-८ घर भई हाल टोखा नगरपालिका-६ बस्ने आयुष भन्ने २५ वर्षीय आकाश बाबु विक रहेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले गोपाल र आयुषलाई बौद्ध पिपलबोटबाट पक्राउ परेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगेर कुवेत पुर्याई घरेलु काममा लगाइ शारीरिक तथा मानसिक यातना दिएको आरोप छ । राकेश र आयुषले दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पुर्याइ घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिएको खुल्न आएको छ ।
पीडितहरूले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाई १ लाख ५० हजार मागेको र बढी गरे त्यही मारी दिने धम्की दिएपछि पीडितले आफन्तलाई खबर गरेका थिए । त्यसपछि पीडितका आफन्तले उद्दारका लागि प्रहरीमा निवेदन दिएपछि घटना बाहिरिएको हो ।























