समाज

नवलपरासीमा तातो हावा ‘लू’ ले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप

नवलपुर टुडे
२०८१ बैशाख १४ | मध्यान्ह ०१:०१ बजे
फाइल तस्बिर

नवलपरासी, बैशाख १४ । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण पश्चिम नवलपरासीको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ । 

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नवलपरासीको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नवलपरासीलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, शरीर पुरै ढाँकेर कपडा लगाउने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, घाममा काम गर्ने बेला जीबन जल पिउने, स्वास्थ्यमा धेरै समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख डा. किरण पाण्डेले आग्रह गरे ।

अत्यधिक गर्मी हुने तराईका जिल्ला मध्ये नवलपरासीमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नवलपरासीको उद्योग वाणिज्य सङ्घका ओम प्रकाश अधिकारीले नवलपुर टुडेलाई बताए ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । नवलपरासीको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा तातो हावा ‘लू’ चलेदेखि पहिला भन्दा ५० देखि १०० जना बिरामी बढेको अस्पतालका प्रशासन अधिकृत गोबिन्द ज्ञवालीले नवलपुर टुडेलाई बताए ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने नवलपरासीको परासी बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

कमेन्टहरु