सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

रासस
२०८३ असार ८ | बिहान ०९:०३ बजे

किमाथाङ्का (सङ्खुवासभा) असार ८। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् ।शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।
पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन् । पहिरो कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिन पुरिएको छ । धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ । धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ ।


















