कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण


सुनसरी। अर्नाको राजधानी र चराको स्वर्ग मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन्। आरक्ष प्रशासनका अनुसार पछिल्लो समय यस क्षेत्रमा विदेशीको तुलनामा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको छ।
यस आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी पर्यटक मंसिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन्। मंसिर महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटक मात्र यहाँ भित्रिएका छन्। आरक्ष प्रशासनका अनुसार साउनमा ४९६, भदौमा ५४७, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा एक हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेत महिनामा एक हजार ७० जना पर्यटकले आरक्षको भ्रमण गरेका छन्।
विशेषगरी यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावरहरू हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर र अजिङ्गर प्रत्यक्ष हेर्न पाउँछन्। आरक्षको छेवैमा बग्ने सप्तकोसी नदीमा पर्यटकहरूले सजिलै डल्फिनसमेत हेर्न पाउने आरक्षका योजना अधिकृत पौडेलले जानकारी दिए।
विश्वमै दुर्लभ मानिएका पन्छीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षमा हाँस प्रजातिका २० वटा र जलचरा प्रजातिका ११४ वटा पन्छीहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। यसका साथै पछिल्लो समय कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आउने पर्यटकहरूले रैथाने तथा आगन्तुक वन्यजन्तुसँगै गैँडाको समेत अवलोकन गर्न पाउने भएकाले पर्यटकको संख्या आगामी दिनमा अझ बढ्ने अपेक्षा गरिएको छ।























