कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जगत ठाडा मगर
२०८० माघ २२ | मध्यान्ह ०६:१० बजे

कपिलवस्तु, माघ २२ । कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार बुद्धभूमि नगरपालिका–९ ईमिलियास्थित सडकमा लु.४ त ५१११ नम्बरको ट्याक्टरले लु.५५ प ८६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक शिवराज नगरपालिका–१ भलुही बस्ने १७ वर्षीय ईश्वर थारू गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार १ जना घाइते भएका छन् । उनको बुद्धपोलिक्लिनिक गोरुसिंगेमा उपचार भइरहेको छ ।
दुर्घटना पश्चात् ट्याक्टर चालक फरार रहेको र उनको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























