नवलपुरमा दुई वटा बस आपसमा ठोक्किँदा ६ जना घाइते

जगत ठाडा मगर
२०८० पुस २३ | बिहान ०९:०९ बजे

नवलपुर, पुस २३ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैडाकोट न.पा. १० थुम्सिस्थित जंगलमा गएराती दुई वटा बस आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।
राती साढे २ बजेको समयमा काठमाण्डौबाट दाङको लागि आँउदै गरेको ना ७ ख ७३९७ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको एनपी१३पि१९७९ नम्बरको भारतीय बस एक आपसमा ठोक्किएको हो ।
उक्त दुर्घटनामा ७३९७ नम्बरको चालकसहित बसमा सवार ६ जना घाईते भएको नवलपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुको उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाएको र सबैको अवस्था सामान्य रहेकाले सामान्य उपचार पश्चात सबै जनाको डिस्चार्ज भइसकेको छ ।
दुबै सवारी साधन र भारतीय चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।




















