नवलपुरको गैंडाकोट भोक्रोफाँटमा टेलिकमको टावर निर्माण सुरु भएसँगै स्थानीय खुसी : संस्थापक मेयर पौडेल


नवलपुर, मंसिर २२ । गैंडाकोट नगरपालिका–३ को भोक्रोफाँटमा नेपाल टेलिकमको टावर निर्माण कार्य सुरु भएसँगै स्थानीय जनतामा खुसियाली छाएको गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेलले बताएका छन् । कालिगण्डकी करिडोर अन्तर्गत पर्ने भोक्रोफाँट क्षेत्रमा टेलिकमको टावर नभएका कारण सञ्चारमा निकै असहज भएको थियो । सञ्चारको पहुँचका लागि टेलिकमको टावर निर्माण सुरु भएपछि आफ्नो सपना पनि साकार भएको पौडेलले बताए ।
गैंडाकोट नगरपालिकाको विकासका लागि आफु सँधै तत्पर रहेको भन्दै पौडेलले नगरको विकासका लागि विगतमा पदमा रहँदा जसरी आफू लागिपरेको बताए । कालिगण्डकी करिडोर अन्तर्गत पर्ने भोक्रोपाँटमा टावर निर्माणका लागि आफु निरन्तर खटिएको पनि उनले बताए । आफू नगरमा निर्वाचित भएलगत्तै त्यस क्षेत्रमा विद्युतिकरण गरेको र यतिवेला जीवनयापन निकै सहज भएको उनको दाबी छ ।
विगतमा शिक्षा, स्वास्थ्य, कृषि, सडक लगायतका क्षेत्रहरुमा नगरलाई नै नमुना बनाउन लागिपरेको सम्झँदै अहिले पनि आफूलाई उत्तिकै चासो रहेको उनले बताए । पहाडी क्षेत्रमा पर्ने वडाहरुको विकासका लागि आफु जनतासँगै रहेको उनको भनाइ छ । नारायणी नदीको तटवन्धन, रिङरोडको अवधारणा लगायत नगर अस्पतालको स्थापनामा समेत आधार तयार पारेको उनी बताउँछन् ।























