गण्डकी प्रदेश, राजनीति

गठबन्धन सरकारले जनतामा निराशा बढायो : अध्यक्ष ओली

नवलपुर टुडे
२०८० मंसिर २२ | बिहान ०८:०८ बजे

बाग्लुङ । एमाले अध्यक्ष केपी ओलीले नेपाली जनतामा अन्योल र निराशाको अन्त्य गर्न एमालेको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा बिहीबार बाग्लुङ सदरमुकाममा भएको सन्देश सभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सरकारले जनतामा उत्साह पैदा गर्न नसकेको आरोप लगाए ।

गठबन्धन सरकारलाई हुतिहाराको संज्ञा दिँदै ओलीले बढ्दो युवा पलायन, बेरोजगारी, गरिबी, अराजकता, जनतामा अन्योल, निराशाको अन्त्य गर्न एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने तर्क गरे । उनले एमाले सरकारमा हुँदा सुरुवात गरेका विकासका कामको चर्चा पनि गरे । ओलीले संकल्प यात्रा तय गर्नुको मुख्य उद्देश्य जनताको मनोभावना अध्ययन गर्नु र मध्यपहाडी लोकमार्गको सम्भावना खोज्नु रहेको पनि बताए ।

जनताको अपेक्षाअनुसार सुखी नेपाली समृद्ध नेपाल बनाउने संकल्प पूरा गर्न पार्टीको तल्लो तहदेखि नै काम गर्न उनले कार्यकर्तालाई आह्वान गरे । पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउन बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ थियो । ‘यो देशमा विकासको खाका तयार गर्ने पार्टी एमाले मात्र हो । एमालेबाहेक अन्य पार्टीमा त्यो भिजन छैन । अहिले हामी जहाँ–जहाँ पुग्छौँ, त्यहाँ–त्यहाँ विकासले गति लिएको छ, विकासको थालनी एमालेले गरेको हो,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हामी पश्चिम झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यसबीचमा हामीहरूले धेरै सम्भावनाको अध्ययन गरेका छौँ ।

यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने, यहाँ कसरी समृद्धि ल्याउने भन्ने योजना बनाउन थालेका छौँ ।’ मध्यपहाडको समस्या र विकासको सम्भावना खोज्न एमालेले १४ मंसिरदेखि झुलाघाटबाट अभियान सुरु गरेको हो । यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ । 

कमेन्टहरु