मुस्ताङमा लुकाई छिपाई राखेको अवस्थामा चार वटा मोटरसाइकल बरामद


मुस्ताङ, मंसिर ६ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ५ फल्याकस्थित शाङता हुँदै डोल्पा जाने कच्ची सडक नजिकैबाट प्रहरीले लुकाई छिपाई राखेको चार वटा मोटरसाइकल बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्र.स.नि.सुजन गुरुङको कमाण्डमा खटिएको ५ जनाको टोलीले नेपाल-चिन सिमानाबाट भन्सार छली अबैध रूपमा ल्याइएको चाईनिज कम्पनीको जस्तो देखिने ४ थान मोटरसाईकल लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो ।
प्रहरीले एउटा हरियो कालो रङको LIFAN कम्पनीको २०० सिसिको मोटरसाइकल, एउटा रातो कालो रङको HONLEI कम्पनीको १५० सिसिको मोटरसाइकल, एउटा रातो कालो रङको YINGANG कम्पनीको १५० सिसिको मोटरसाइकल र एउटा कालो सेतो रातो रङको XINGUIGUN,ZY कम्पनीको २५० सिसिको मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
डिएसपी पाण्डेयका अनुसार बरामद गरिएका ती मोटरसाइकलको अन्दाजी मुल्य रू १० लाख रहेको छ । ती मोटरसाइकल डोल्पा लैजान लागिएको बुझिएको उनको भनाइ छ ।
बरामद गरिएका सबै मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय मुस्ताङ जोमसोम पठाइएको प्रहरीले जनाएको छ ।























