दोभानमा भेटियो खोलाले बगाएको जिप, एक मृत फेला, दुईजना अझै बेपत्ता


पर्वत, असोज १३ । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो ।
जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन । जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी जारी रहेको उनले बताए ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थिए । डिएसपी भुषालका अनुसार बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए । बाँकी दुई जना बाटोबाट चढेका डिसपी भुषालले बताए । चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ ।
चालकले प्रहरीलाई दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो । जिप फसेपछि चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो । त्यति बेलासम्म यात्रु जिपमै थिए ।






















