प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने


काठमाडौं, असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किने भएका छन् । भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज फर्कन लागेका हुन् ।
प्रधानमन्त्री दाहाल र उनको भ्रमण टोली बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारहरूसँग भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । हाङजाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
बेइजिङमा चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लिजी र समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । बेइजिङमा नेपाल-चीन लगानी सम्मेलनलाई पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।
बेइजिङबाट छोङछिङ गएका उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गरेका थिए भने त्यहाँ कृषि क्षेत्रमा भएका विकासको अवलोकन गरेका थिए ।
उनी कैलाश पर्वत र मानसरोबर गएर शुक्रबार छेन्दु पुगेका थिए । छेन्दुबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली आज फर्कन लागेको हो ।
भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका छन् ।






















