सल्यानमा जीप दुर्घटना हुँदा चालक र सवारी धनीको मृत्यु, अन्य एक जना घाइते


सल्यान, असोज ८ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको तुलसीपुर उपहानगरपालिका – १८ का ५० बर्षीय गणेश बुढा र २५ बर्षीय भक्तबहादुर घर्ती रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले जानकारी दिए ।
डिएसपी कार्कीका अनुसार बुढा सवारी धनी हुन् भने घर्ती चालक हुन् । उनीहरू दुबैको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ६ बजे रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप सल्यानको कपुरकोट गाउँपालिका – ३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँबाट झन्डै तीन सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परि दाङको तुलसीपुर उपमहानगरपालिका – २ का ३५ बर्षीय नारायण योगी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि तुलसीपुर ल्याइएको डिएसपी कार्कीले जानकारी दिए । तीव्र गतिका कारण जिप अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।




















