अपराध

गैह्रीगाउँ सामूहिक हत्याकाण्डका आरोपित भण्डारीले लेखे –अन्यत्र पनि हत्या गरेको छु

नवलपुर टुडे
२०८० अशोज ५ | मध्यान्ह ०८:०६ बजे

काठमाडौं, असोज ५ । काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको ४ जनाको हत्यामा संलग्न आरोपीतले अन्यत्र पनि हत्या गरेको दाबी गरेका छन् । दिव्या स: मिलमा सुरक्षागार्डको रुपमा कार्यरत कुमार भुजेलसहित ४ जनाको हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका संजय भण्डारीले काठमाडौँमा अन्य दुई ठाउँमा हत्या गरेको जिकिर गरेका हुन् ।

उनले भदौ २९ गते राति सः मिलका सुरक्षागार्ड दोलखाका कुमार भुजेल, शुभद्रा भुजेल, अम्बिका भुजेल र मोरङका नबिन राईको हत्या गरेको आरोप छ । सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका संजय जन्मजात नै बोल्न सक्दैन थिए । फरक क्षमता भएका संजयलाई प्रहरीले दोभाषेको सहयोगमा लेख्न लगाएर सोधपुछ गरिरहेको छ ।

सोधपुछ गर्दा उनले नक्सालस्थित भाटभटेनी, धुम्बाराही र रातोपुलमा पनि हत्या गरेको बताएपछि अनुसन्धान अधिकृतहरु चकित भएका छन् । संजय ‘सिरियल किलर’ हुनसक्ने आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले उनले दाबी गरेका घटनाहरुबारे पनि अनुसन्धान थालेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले आरोपीतलाई लगेर भाटभटेनी र रातोपुलको घटनास्थल निरीक्षण गरेका छन् । अनुसन्धान अधिकृतहरुले उनले दाबी गरेका कुराहरु पुष्टि गर्ने प्रयास गरिरहेका छन् । हत्या गरेको दाबी गरेपनि उनले मिति स्पष्ट भन्न सकेका छैनन् । उनले भनेका कुरा सत्य हुन वा हैनन् भन्नेबारे पुष्टि गर्ने प्रयासमा रहेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

नक्सालमा ब्रेल लिपिको माध्यमबाट संजयले १२ कक्षासम्म पढेका थिए । बालमन्दिरमा पढ्न जाँदा उनी पैदल हिँडेर काँडाघारीस्थित दिदी–भिनाजुको घरबाट आउजाउ गर्थे । एकजना व्यक्तिसँग १३ हजार लिनुपर्ने तर, नदिएपछि हत्या गरेको उनले अनुसन्धान अधिकृतहरुसँग दाबी गरेका छन् ।

पक्राउ परेको दिन उनले ‘आई किल्ड फोर पिपुल’ लेखेका थिए ।

कमेन्टहरु