बाराबाट काठमाडौं आउँदै गरेको सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते


काठमाडौं, असोज ३ । बारामा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुधबार बिहान ८ बजे बाराको निजगढबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३८४७ नम्बरको गाडी जितपुर सिमरा उपमहानगरपालिका – २१ पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अमलेखगंजमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते हुनेमा निजगढ – ८ का २० वर्षीय विकासकुमार चौधरी, ६४ वर्षीय नेथुलाल चौधरी, उनकी ६३ वर्षीया श्रीमती सजियादेवि चौधरी, १७ वर्षीय आदित्य भण्डारी, ३० वर्षीया सुमित्रा पौडेल र उनका ८ वर्षीय छोरा सारान्स न्यौपाने रहेका छन् । यस्तै जितपुर सिमरा उपमहानगर – १६ पुलिवा बस्ने ३१ वर्षीय आरती तामाङ र सिन्धुली दुधौली नगर – ९ का ७ वर्षीय किसान पोखरेल घाइते भएका छन् ।
घाइतेहरूको एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएर दुर्घटना भएको थियो । सुमो चालक निजगढ नगरपालिका – ९ बस्ने ३७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















