देश

सुवास नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै

नवलपुर टुडे
२०८० अशोज २ | बिहान ०७:०६ बजे

काठमाडौं, असोज २ । नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दै छ । गोष्ठी तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुनेछ ।

‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्नेछन् भने अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका केन्द्रीय उपाध्यक्षहरूलाई खटाइएको छ ।

पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले वक्तव्य राख्ने छन् ।

यस्तै नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्यले पनि वक्तव्य प्रस्तुत गर्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

मधेस प्रदेशको जनकपुरमा हुने गोष्ठीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कोसीको इलाममा रामबहादुर थापा ‘बादल’, लुम्बिनीमा युवराज ज्ञवाली, गण्डकीमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा विष्णुप्रसाद पौडेल र कर्णालीमा सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहने एमालेले जनाएको छ ।

कमेन्टहरु