देश

पश्चिम नवलपरासीमा निषेधाज्ञा जेठ १५ सम्म लम्बियो, अत्यावश्यक बाहेकका सबै पसल बन्द हुने

नवलपुर टुडे
२०७८ बैशाख ३१ | मध्यान्ह ०८:०१ बजे

नवलपरासी / पश्चिम नवलपरासीमा लगाइएको निषेधाज्ञा आउँदो जेठ १५ गतेसम्मका लागि थप भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि जेड १५ गते राति १२ बजे सम्मका लागि पश्चिम नवलपरासीमा निशेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधि भर अत्यावश्यक काममा बाहेक कोही पनि घर वाहिर निस्कने वा हिडडुल गर्न कडाइ गरिने भएको छ । सिमानाकाहरुमा हुने आवतजावत पूर्णरुपमा वन्द गरिनेछ ।

IMG 20210514 202718 934

अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी, इन्धन, पानी मात्र विक्रि गर्ने तथा स्वास्थ्य सामाग्री विक्री वितरण गर्ने पसल व्यवसाय बाहेक कुनैपनि पसल व्यवसाय सञ्चालन नगर्न भनिएको छ । एम्बुलेन्स, शववाहन, दमकल, औषधी ढुवानी गर्ने सवारी साधान, पानी आपूर्ति गर्ने सवारी, इन्धन आपूर्ती गर्ने सवारी, संचारकर्मीले सूचना विभागबाट जारी भएको परिचय पत्र र सवारी मात्र संचालन गर्न पाइने भएको छ ।

यस्तै निजि सवारी साधनहरु संचालनमा पूर्ण रोक लगाइएको छ । यस्तै बैंङ्क तथा वित्तिय संस्थाबाट प्रवाह गर्ने सेवाहरु अर्को सूचना नआउँदासम्म स्थगित गर्ने निर्णय भएको छ । विवाह कार्यक्रम गर्दा १५ जना नबढ्ने गरि २ वटा सवारीमा तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरि मात्र सञ्चालन गर्न पाइने छ । आफ्नो धर्म, संस्कृति, अनुसार मृत्यु संस्कारको कार्य गर्दा १५ जना नढ्ने गरि मालमी जान पाइने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारि भएको आदेश उलंघन गर्ने, आदेश पालना गर्ने कार्यमा अवरोध गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रद्धारा जारी सूचनामा जनाइएको छ ।

यसअघि वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा शुक्रबार राती १२ बजेसम्म जारी गरिएको थियो । निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको जिल्ला प्रशान कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

कमेन्टहरु