पश्चिम नवलपरासीमा आज थप दुई जना कोरोना संक्रमितको मृत्यु, ८९ नयाँ संक्रमित थपिए


नवलपरासी / पश्चिम नवलपरासीमा सोमबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाका एक – एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपरासीले जानएकाे छ ।
सुनवल नगरपालिका वडा नम्बर ११ का ७३ वर्षीय वृद्धको होमआईसोलेशनमा मृत्यु भएको छ । उनमा आइतबार कोरोना संक्रमण भएको थियो । सोही दिन निधन भएको छ । मृतकमा स्वासप्रस्वास र दमको समस्या रहेको स्वास्थ कार्यालयका फाेकल पर्शन पौडेलले बताउनुभयो ।
यस्तै प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय पुरुषको सोमबार पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा मृत्यु भएको छ । मृतकमा स्वासप्रस्वासमा समस्या र अक्सिजनको मात्रा कम भएकाले मृत्यु भएको कोरोना फोकल पर्सन पौडेलले जानकारी दिनुभयो । सोमबार दुई जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संङ्ख्या ७३ पुगेको छ ।
यसैविच पश्चिम नवलपरासीमा सोमबार थप ८९ जनामा कोरोना संक्रमण थपिएको छ । जसमध्ये पुरुष ५९ र महिला ३० जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर परिक्षणबाट ३९ र एन्टिजिनबाट ५० जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार बर्दघाट नगरपालिमा मात्रै ४३ जनामा संक्रमण भएको छ । यस्तै सुनवल नगरपालिकामा २४, सरावल गाउँपालिकामा ७, प्रतापपुर गाउँपालिकामा ६ जना, रामग्राम नगरपालिका, सुस्ता र पाल्हीनन्दन गाउँपालिकामा ३-३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
सोमबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या २६ सय ३५ पुगेको छ । अब जिल्लामा ११ सय २ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले नवलपुर टुडेलाई जनाएको छ ।






















