कपिलवस्तुमा सहकारीले अनुदानमा बेच्ने मल अध्यक्षले ससुराली घरमा लुकाए

नवलपुर टुडे
२०८० साउन २ | मध्यान्ह ०७:०४ बजे

कपिलवस्तु। कपिलवस्तुमा सहकारीले अनुदानमा बेच्ने मल सो सहकारीका अध्यक्षको ससुराली घरमा गोदाम गरिएको अवस्थामा भेटिएको छ । सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएपछि अध्यक्षलाई कारबाही माग गरिएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका-३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले ससुराली पुर्याएको पाइएको छ ।
शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक इन्सपेक्टर शैलेश्वरी बोहोराले नियमविपरीत मल बिक्रीवितरण गरेको सूचना आएपछि प्रहरीले जफत गरी उठाएर ल्याएको बताइन् ।
सहकारीका अध्यक्ष यादवले सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबी गर्दै मंगलबार र बुधबार किसानलाई वितरण गर्ने जानकारी प्रहरीलाई गराएका छन् । ‘पानी परेर बिग्रने भएकाले नजिकै ससुरालीको घरमा राखेको हो, प्राविधिक विषय नि नबुझी गलत प्रचार गरियो’, यादवले भने, ‘केही दिनमा वितरण हुनेछ, अनियमित हुन दिनेछैन ।’


















