मानव सभ्यताका मूल खम्बा शिल्पी समुदाय


डिबि नेपाली
काठमाडौ । विश्वको सबैभन्दा पुरानो सभ्यता शिल्प (मानव) सभ्यता हो । जसलाई सिमान्तकृत शिल्पी (दलित) समुदायले विकास गरेका थिए । ईसापूर्व १८४० अगाडि विकास भएको यूनानी, हिब्रु, ग्रीक, इटालीको रोम, पछिल्लो खससभ्यता, इन्डोनेशयिाको वाली र वागमती सभ्यता हुन्। हरप्पा, मोहोन्जोड्दो सभ्यता द्रविड, शुद्रहरुले नै विकास गरेको थिए ।
पुरातत्वविद्ध र वैज्ञानिकहरुले गरेको उत्खनन्बाट सिन्धुघाँटीको सभ्यता करिब आठ हजार वर्ष पुरानो मानिएको छ । ककेश पर्वत हुँदैं ई.पू. पन्र्धहजारमा भारतीय उपमहाद्धीपमा प्रवेश गरेका आर्यहरुले पहिले नश्लको आधारमा यो क्षेत्रमा बसोबास गर्ने मूलबासी द्रविड, शुद्रहरु माथि विभेदको श्रृखंला लादे । आर्यहरुको प्रवेशले द्रविड, शुद्रहरुले विकास गरेको सभ्यता नष्ट पारिदिएका थिए । यहाँका मूलनिवासी द्रविड, शुद्रहरु आर्यको आक्रमणबाट विस्थापित भएका थिए ।
आर्यखसहरु छैटौं शताब्दीमा सुदूरपश्चिम र कर्णाली क्षेत्रमा आउनुभन्दा शताब्दीऔं अघिनै वर्तमान समयमा शिल्पी (दलित) भनिने जातीय समूहहरु यहाँ आइसकेको जनकलाल शर्मा, डा.केशवमान शाक्य, डा.सुरेन्द्र के.सी., डा.महेश्वर जोशी, स्व. प्रा.डा. जयराज पन्त, डिल्लीराज शर्मा र नवराज सुवेदी लगायत इतिहास, संस्कृतिविद्हरुले पुष्टि गरेका छन् । एक चर्चित भनाइ छ,‘कुनै जातिको अस्तित्व मेटाउनु छ भने उसको इतिहास र पहिचान मेटाइदिनुपर्छ ।’
सीमान्तकृत शिल्पी (दलित) समुदायहरुले विश्वकै अनादिकालीन शिल्प (मानव) सभ्यताको विकास सुदूरपश्चिम र कर्णाली क्षेत्रमा विकास गरिसकेका थिए । विशेषगरी यस क्षेत्रमा खसआर्यको ठूलो समूहको प्रवेशपछि शिल्पी (दलित) समुदाय आफ्नो थात्थलो, राजकाज, संस्कृति र अनादिकालीन कर्णाली शिल्पसभ्यताबाट विस्थापित भए ।
यी तथ्यहरुमाः अहिलेसम्म सुदूरपश्चिम र कर्णालीमा शिल्पी समुदायको जातीय नाममा दर्जनौ गढी, किल्ला कोटहरुको नामकरण हुनु, यस क्षेत्रमा ठूला र चर्चित देविदेवता शिल्पी समुदायकै पूर्खाहरुले प्राप्त गर्नु, अनादिकालीन कर्णाली शिल्पसभ्यता, कला र सास्कृतिक सम्पदा छैनब्बे प्रतिशत भन्दा बढी यीनै समुदायको रहनु, विभिन्न ठाँउमा शिल्पी समुदाय अहिले पनि भूमिपति (मट्या) को रुपमा रहनु, झाँङ्ग्री विद्या र नाचगान कला–संस्कृति कुमशाल्या (कथित तल्ला जात) जातिहरुको हो भन्ने तथ्य इतिहासविद्हरुले इतिहासमा उल्लेख गर्नु, विभिन्न बहानामा थुप्रै ठाँउमा शिल्पी समुदायको आमनरसंहार गरिएको इतिहास पाइनु, क्षेत्रगत र ऐतिहासिक निरन्तरताको रुपमा अहिले पनि उनीहरुको देशैभरिमा कर्णालीमा पहिलो ठूलो जनसंख्या रहनु, ऐतिहासिक दस्तावेजहरु र स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाका र जानकारहरुका अनुसार शिल्पी समुदाय कर्णालीका अनादिकालीन मूलवासीको रुपमा रहेको प्रष्ट हुन्छ ।
यी तथ्य र वस्तुगत आधारहरुले लेखक, इतिहासकारहरुको लेखनमा सत्यता रहेको छ । जसलाई कर्णाली/भेरि नदीसँग जोडिएको कर्णाली/भेरि नदी सभ्यताको रुपमा पनि बुझन सकिन्छ । जुन सभ्यता प्रकृतिपूजक, झाँङ्ग्री परम्परामा आधारित, वास्तुकला/शिल्पशास्त्रमा आधारित, प्रस्तर, मौलिक कलासंस्कृति र शिल्पसभ्यतासँग सम्बन्धित रहेको छ । आगोको आविष्कार र आधुनिक वैज्ञानिक कार्यशालाको पहिलो आधार आरनको सृजनाकार कामी जाति नै थिए । मन्दिरमा त्रिशुल, घण्टी बनाएर चढाउने, बजाउने, शक्ति माग्ने देविदेवतालाई धुप हाल्ने, पूज्ने सभ्यताको विकासकर्ता पनि कामी जाति नै थिए । आकर्षक मन्दिर, महल, दरवार, कुलोनहर, नगरवस्ती बसाउने, राजमुकुट, गरगहना आदि बनाउने उनीहरुनै थिए । तर, कामी तथा सबै उत्पीडितलाई मनुवादीले राम्रो घर बनाउन नदिने र मन्दिर प्रवेशमै रोक लगाइ दिए ।
यहाँ सम्म कि वर्षको ३६४ दिन गाली गर्ने, हेप्ने, अपमान गर्ने, दुत्कार्ने, हत्यासम्म गर्न पछि नपर्ने। तर, वर्षको एकदिन विश्वकर्मा पूजा गरेर साखुल्य बन्ने ढोंगी समाजको बहुरंङ्गी चरित्र पनि उदेक लाग्दो छ । जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेपछि लामो यात्राको लागि खाली खुट्टाले यात्रा गर्न असहज भयो । यसलाई सहज बनाउन छाला प्रशोधनशाला चर्मशास्त्रको आविष्कार गरी छालाजन्य घरायसी (छालाको चाल्नो, डोको, डालो, डोरी, हँडुल, नाम्लो) सामग्री र जुत्ता चप्पल बनाउने मानव सभ्यतामा फड्को मार्ने सभ्यताको सिर्जनकार सार्की जातिको योगदान अतुलनीय रहिआएको छ ।
त्यति मात्रै होइन, अफन्त र प्रियजनको मृत्युपछि नदी वा जङ्गलमा दाहसंस्कार पश्चात् घर भन्दा ५ देखि ६ सय मिटर जति टाढा सार्वजनिक चौतारी, पाटीपौवा, विश्रामस्थल बनाई मृतकको नाममा वरपिपल, तुलसी रोप्ने चलनको शुरुवात् गर्ने सार्की जातिकै देन थियो ।चौतारो, पाटीपौवा, विश्रामस्थल बनाउने र वरपिपल रोपेको देखेपछि सार्की समुदायमा मरौ परेको भन्ने जानकारी अन्य समुदायले जानकारी पाउँथे ।
मनुवादी धार्मिक विधानले जुन समुदायले मृतकको स्मृति, सम्झना र पर्यावरणीय सन्तुलनका लागि वरपिपल रोप्ने सभ्यताको विकास गर्यो, तिनै समुदायलाई वरपिपल र तुलसी रोप्न बन्देज लगाइयो । वैदिककाल भन्दा अघि प्रागैतिहासिक काल अर्थात् जंगली युगमा जनावर मार्ने, मासु कन्दमूल खाने र धोन्द्रो परेको रुखमा जनावरको छाला सुकाउने गर्दथे । छाला सुकि सकेपछि लठ्ठीले हिर्काउँदा दुङ्दुङ्ग आवाज आयो । पहिलोपटक यस्तो नौलो आवाजले कौतुहलता र जिज्ञासा बढाउनु स्वभाविकै थियो ।
त्यहि आवाज र मिठो धुनलाई पछ्याउँदै जाँदा धोन्द्रो परेको रुख, भ्याङ् परेको जमिनमा जानावरका छाला सुकाउँदै गए। यहि अभ्यासको क्रममा निश्चित आकार दिएर दमाई जातिको जातीय मौलिक बाजा पञ्चेबाजा समूहभित्रको दमाहा (दुन्दुभी, भेरी, नगरा) ढोलकी र ट्याम्को सहित दर्जनौ बाजाको आविष्कार गर्ने साङ्गीतिक जाति दमाई नै थिए । पञ्चेबाजा समूहभित्रको कर्णाली र भेरिबाजाबाट भेरि नदीसभ्यताको नामकरण गर्ने दमाई पूर्खाहरुकै देन हो । यी बाजा निर्माण भने कामी, सार्की र बादीको सहयोगले मात्रै पूर्णता पाउँछ । नेपालमा नेवारपछि सबै भन्दा बढी बाजागाजा भएको जाति दमाइ र दलित जती नै हो ।























