जुत्ता सिलाउने कारखानाबाट विश्वव्यापी साम्राज्यसम्मको यात्रा


काठमाडौँ । सन् १९८० को दशकमा एक १७ वर्षीय किशोर डिङ सिजोङ ६०० जोर जुत्ता बोकेर बेइजिङ सहर पसेका थिए । विद्यालयको पढाइ बीचमै छाडेर व्यापारमा होमिएका उनले आफ्नो नातेदारको कारखानाबाट ती जुत्ता ल्याएका थिए।
त्यही सानो सुरुवातले आज ‘एन्टा’नामक यस्तो स्पोर्ट्सवेयर साम्राज्यको रूप लिएको छ, जसले अहिले विश्वका दिग्गज ब्रान्डहरू नाइकी र एडिडासको वर्चस्वलाई चुनौती दिइरहेको छ।
चीनको ‘जुत्ताको राजधानी’ मानिने जिन्जियाङ सहरबाट सुरु भएको एन्टाले दशकौँसम्म विश्वका ठूला ब्रान्डहरूका लागि जुत्ता उत्पादन गर्ने काम गर्यो। तर, अरूका लागि सामान बनाउँदा बनाउँदै यो कम्पनीले उत्पादनको प्रविधि र बजारको आधारभूत ज्ञान हासिल गर्यो। सन् २००५ मा संस्थापक डिङले “हामी चीनको नाइकी होइन, बरु विश्वको एन्टा बन्न चाहन्छौँ” भनी लिएको लक्ष्य अहिले साकार हुँदै गइरहेको देखिन्छ।
हालै यसले अर्को ठूलो स्पोर्ट्स ब्रान्ड ‘प्युमा’ मा समेत हिस्सेदारी किनेर विश्व बजारमा आफ्नो प्रभाव अझ बलियो बनाएको छ।चीनमा १० हजारभन्दा बढी स्टोरहरू सञ्चालन गरिरहेको एन्टाले अहिले पश्चिमी बजारमा आफ्नो उपस्थिति बढाउन थालेको छ। यसै वर्षको फेब्रुअरीमा कम्पनीले अमेरिकाको विलासी क्षेत्र बेभर्ली हिल्समा आफ्नो पहिलो स्टोर खोलेको छ।
ओलम्पिक विजेता आइलिन गु र बास्केटबल स्टार काइरी इरभिङ जस्ता चर्चित खेलाडीहरूलाई ब्रान्ड एम्बेसडर बनाएर एन्टाले विश्वभरका युवाहरूको ध्यान तान्न सफल भएको छ।
चिनियाँ सामानहरू सस्तो र कमसल हुन्छन् भन्ने पुराना सोचलाई चिर्दै एन्टाले उच्च गुणस्तर र प्रविधिको प्रयोगमार्फत आफूलाई स्थापित गरिरहेको छ। नाइकी र एडिडास जस्ता कम्पनीहरूले आर्थिक मन्दी र आपूर्ति श्रृंखलामा समस्या झेलिरहेको बेला एन्टाको बलियो उत्पादन केन्द्र र आक्रामक विस्तारले विश्व खेलकुद बजारमा नयाँ तरंग पैदा गरेको छ।
आगामी तीन वर्षमा दक्षिण-पूर्वी एसियामा मात्र १ हजार नयाँ स्टोर खोल्ने लक्ष्य राखेको यो कम्पनी अब विश्वकै अग्रणी स्पोर्ट्स ब्रान्ड बन्ने दौडमा अघि बढेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।






















