रुपन्देहीमा पेट्रोलपम्पको अनुगमन : नापतौलमा गडबड गर्ने लम्साल आयलमा ‘सिल’


बुटवल । रुपन्देहीमा मापदण्डविपरीत बढी पेट्रोलियम पदार्थ बिक्री गर्ने एउटा पेट्रोलपम्प कारबाहीमा परेको छ । जिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोलपम्पमा आइतबार अनुगमन गर्ने क्रममा मापदण्डविपरीत तेल बिक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, को लम्साल आयल सप्लायर्स सिल गरी तीन दिनभित्र उपस्थित हुन समितिले पत्र काटेको छ ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित पाँचवटा पम्पमा आइतबार समितिले अनुगमन गरेको थियो । अनुगमनमा नापतौल मात्र हेरिए पनि गुणस्तरबारे हेरिएको छैन । अनुगमनका क्रममा उक्त पम्पले प्रत्येक पाँच लिटरमा ६५ एमएलसम्म बढी बिक्री गरेको पाइएपछि सिल गरिएको गुणस्तर नापतौल कार्यालय, बुटवलका प्रमुख शम्भुकुमार झाले जानकारी दिए ।
प्रत्येक पाँच लिटरमा १५ एमएल कम र ३० एमएलसम्म बढी बिक्री गर्न पाइने नापतौल विभागको मापदण्ड रहेको छ । ‘कसैले पनि घाटा खाएर तेल बिक्री गर्दैन । तर, लम्साल आयलले उपभोक्तालाई बढी मात्रामा तेल बिक्री गरेको पाइयो,’ उनले भने, ‘अनुगमन समिति आएको थाहा पाएपछि मेसिन मिलाउने क्रममा यस्तो गरेको हुन सक्छ ।’ थप अनुसन्धानका लागि पम्प सिल गरेको अनुगमनमा सहभागीको भनाइ छ ।
झाका अनुसार मेसिनरी समस्या भएर पेट्रोलियम पदार्थ कम र बढी गराएर बिक्री गर्ने पम्पलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । ‘यदि कसैले नियतवश पेट्रोलियम पदार्थ बिक्री गर्दा घटी–बढी गरेर बिक्री गरेको प्रमाणित भयो भने ऐनअनुसार तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्ष कैद वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था छ,’ उनले भने, ‘लम्साल आयलको नियत के हो ? हामी अनुसन्धान गर्छौँ र आवश्यक कारबाही हुन्छ ।’
जिल्ला अनुगमन समिति संयोजक एवं रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले अनुगमनका क्रममा चारवटा पेट्रोलपम्पले मापदण्ड पालना गरेको पाइए पनि लम्साल आयल सप्लायर्समा कैफियत देखिएको जानकारी दिए । उनले अनुगमनका क्रममा नापतौलबारे मात्रै हेरिएको, तर गुणस्तरबारे नहेरिएको बताए । अनुगमनका क्रममा समितिले पम्पहरूले बिक्री गरिरहेको तेलको परिमाण, मेसिनको अवस्थालगायत जाँच गरेको थियो । अनुगमन समितिमा जिल्ला प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयका साथै लुम्बिनी प्रदेशको उपभोक्ताहित संरक्षण निर्देशनालय, जिल्ला प्रहरी कार्यालयलगायतको सहभागिता थियो । नयाँ पत्रीकामा समाचार छ ।























