नवलपुरको मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय


मध्यविन्दु, माघ २६ । नवलपुरको मध्यविन्दु नगरपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आंगिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको थियो ।
मध्यविन्दु नगरपालिकाको नवजागरण नमुना मावि र स्थानीय तहबाटै जग्गा व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार तयार गरी परिषद्को आङ्गिक शिक्षालयको रुपमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय भए बमोजिम जग्गा प्राप्ती लगायतको प्रक्रिया अगाडि बढेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए । मध्यविन्दु नगरपालिका–६ मा शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया बढाइएको छ ।
परिषद्ले यही माघ २० गते मध्यविन्दु नगरपालिकालाई बोधार्थ गरेर सिटिइभिटी गण्डकी प्रदेशलाई पत्राचार गर्दै मध्यविन्दुमा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापनाको लागि आवश्यक पर्ने विद्यार्थीको चाप, रोजगारीको अवसर, जग्गा, भवन, भौतिक पूर्वाधारको अवस्था र सम्भावित विषय पहिचान साथै शिक्षालय स्थापनाको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन प्रतिनिधि खटाई स्पष्ट अध्ययन गरी प्रतिवेदन पेस गर्न भनेको छ ।
आगामी शैक्षिक सत्रदेखि नै शिक्षालयबाट अध्ययन सुुरुवात गराउने गरी बहुप्राविधिक शिक्षालयलाई प्राथमिकतामा राखेर काम भइरहेको नगर प्रमुख अधिकारीले बताए । मध्यविन्दु नगरपालिका–६ मा रहेको नवजगारण नमुना माविको जग्गामध्ये पाँच बिघा जग्गामा सिटिइभिटीको आङ्गिक शिक्षालय स्थापना गर्ने साथै नवजागरण बहुप्राविधिक शिक्षालयलाई भाडामा प्रदान गर्ने र प्रशासनिक लगायत थप आवश्यक पूर्वाधार निर्माणको लागि नगरपालिकामार्फत नै जग्गा खरिद गर्ने गरी काम भइरहेको नगर प्रमुख अधिकारीको भनाइ छ ।
मध्यविन्दु–६ मा शिक्षालय स्थापना नहुँदासम्म नवजागरण नमुना माविको मध्यविन्दु–७ चोरमारा बजारमा रहेको पुरानो भौतिक संरचनाको मर्मत गरेर शिक्षालयबाट पढाइ सञ्चालन हुनेछ । जग्गा तथा भौतिक पूर्वाधारको विद्यालय र नगरपालिकाले व्यवस्थापन गरेपश्चात नवजागरण बहुप्राविधिक शिक्षालय सिटिइभिटीले आफ्नै व्यवस्थापनमा सञ्चालन गर्नेछ । सिटिइभिटीले प्राविधिक विषय सञ्चालनको लागि यस अगाडि जिल्लाको विभिन्न स्थानमा शैक्षिक संस्थालाई सम्बोधन दिए पनि आफ्नै व्यवस्थापनमा जिल्लामा पहिलो पटक आङ्गिक शिक्षालय सञ्चालन गर्न लागेको हो ।
बहुप्राविधिक शिक्षालयमा पहिलो चरणमा कृषि विज्ञान, बाली विज्ञान, पशु विज्ञान र वन विज्ञान सङ्कायमा पढाइ हुनेछ । त्यसपश्चात आवश्यकताको आधारमा थप सङ्कायका प्राविधिक विषयसमेत सञ्चालन हुने सिटिभिटीले जनाएको छ ।























