मुख्य समाचार

तराईका जिल्लाका स्थानीय चिसोसँग कठोर संघर्ष गर्दै

नवलपुर टुडे
२०७९ पुस १६ | बिहान ०८:०९ बजे

तराई–मधेसमा शीतलहरसँगै कठ्यांग्रिँदो जाडोले जनजीवन प्रभावित बनेको छ, अहिलेसम्म पाँचजनाले त ज्यान नै गुमाइसकेका छन् । सप्तरीमा कैयौँ दलित परिवारको चुलो बल्न छाडेको छ, रौतहटका मुसहर समुदाय पराल ओछ्याएर सुत्न विवश छ । त्रिपालमुनि रहेका कैलालीका बाढीपीडित चिसोसँग संघर्षरत छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका– ९ डुमरियाकी शान्ति देवीले चिसोबाट जोगाउन परालको ओछ्यानमाथि सुताएको शिशु । यहाँका ९५ परिवार मुसहर पराल ओछ्याएर सुत्न विवश छन् । दिनभरि ज्याला–मजदुरी गरेर दुई छाकको जोहो गर्ने उनीहरू चिसो बढेपछि काममा समेत जान सकेका छैनन् । 

तराई–मधेसमा तापमान दिनदिनै घट्दो छ । यसले सम्पूर्ण जनजीवन त प्रभावित गरेकै छ, सँगसँगै गरिबहरूका लागि ‘महामारी’ पनि बनेको छ । मंसिर, पुस र माघको चिसोबाट जोगिनु गरिब परिवार र सुकुमबासी बस्तीका बुढाबुढी र केटाकेटीका लागि युद्ध जितेसरह हुन्छ । अहिले हरेक गरिब परिवार जिउनका लागि चिसोसँग कठोर संघर्ष गर्दै छ ।

शीतलहरका कारण यस वर्ष सर्लाहीमा मात्रै एक महिनामा तीनजनाको मृत्यु भइसकेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २२ मंसिरमा हरिपुर नगरपालिका– ६ का ८० वर्षीय रामभगत माझी, ४ पुसमा हरिपुर नगरपालिका– ९ का ६५ वर्षीय राजेन्द्र चौधरी र १२ पुसमा बसबरिया गाउँपालिका– ५ की ७० वर्षीया श्रीपतिदेवी पासवानको चिसोले ज्यान लियो । सिराहाको गोलबजार नगरपालिका– ८ चोहर्वाका ६० वर्षीय कोकवा महराको ६ पुसमा चिसोले कठ्यांग्रिएर मृत्यु भयो । चिसोकै कारण सप्तरीको विष्णुपुर गाउँपालिका– २ का ४७ वर्षीय प्रेम यादवले गत ८ पुसमा ज्यान गुमाए ।

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ८ का ६० वर्षीय बुधन सदा चिसोकै कारण १५ दिनदेखि बिरामी छन् । घरमा न्यायो कपडा छैन । नयाँ पत्रिकाकर्मी पुग्दा उनी भुइँमा पराल राखेर सुतेका भेटिए । छेउमै दुई–तीनजना बालबालिका पनि थिए । पाँच दिनदेखि चलेको शीतलहरले अब कसरी बाँच्ने भन्ने उनलाई पिरेको छ । ‘मंसिरको जाडो जेनतेन काटियो, अब पुस र माघको शीतलहर कसरी काट्ने चिन्ताले सताउँदै छ,’ चिसोले काँप्दै गरेका उनले भने । 

शीतलहरकै कारण मजदुरी गरेर दैनिक गुजारा चलाउने बुधनजस्तै यहाँका दलित परिवारलाई समस्या भएको छ । ‘दुई दिनदेखि भुजा खाएर बसेको छु । नौजनाको परिवार छ । श्रीमती पनि कतै काम गर्न जान पाएकी छैन,’ उनले दुःखेसो पोखे । 

तिलाठी–कोइलाडी– ८ सडकछेउ ऐलानी जग्गामा लहरै फुसका छाप्रा छन् । तिनैमध्ये एउटा छाप्रोमा ४५ वर्षीया अनिता सदाको परिवार बस्छ । दुई छोरासहित उनी छाप्रोमा जसोतसो जिन्दगी धान्दै छिन् । गत वर्ष यही छाप्रोमा जाडो सहन नसकेर अनिताका पति गनेसी सदाको मृत्यु भयो । उनी दमको रोगी थिए । 

दमको रोगी गनेसीलाई न्यानो चाहिन्थ्यो । तर, राम्ररी घामपानी पनि छेक्न नसक्ने छाप्रो अनि चिसो भुइँमा निदाउनुपर्ने बाध्यताका कारण उनले ज्यान गुमाए । ‘कहिलेकाहीँ त आफूलाई पनि मरिन्छ कि जस्तो महसुस हुन्छ,’ अनिताले भनिन्, ‘चिसोले शरीरै कठ्यांग्रिन्छ, हातखुट्टाले काम गर्न छोड्छ । चार दिनदेखि चिउरा खाएर बसेकी छु । शीतलहरले कतै काम पनि गर्न गएको छैन । घरमा चुलोसमेत बलेको छैन ।’

छिन्नमता गाउँपालिका– ३ की सरिता मरिकलाई विगतजस्तै यसपटक पनि शीतलहरले साह्रै सताएको छ । साहु–महाजनकहाँ मजदुरी गरेर परिवार चलाउँदै आएकी उनी अहिले घरमै बस्नुपरेको छ । काम गर्न नजाँदा पैसा आउँदैन, जसकारण भोकभोकै बस्नुपरेको उनको गुनासो छ । ‘अहिले ठन्डीकै कारण कतै जान पाएको छैन । जाडोमा न्यानो कपडा जोड्ने हैसियत छैन, चिसो भुइँमा पराल ओछ्याएर सुत्छु । चिसोले दिनभर बाहिर निस्कन नसक्दा छाक टार्न समस्या छ,’ उनले भनिन् । 

कठ्यांग्रिँदो चिसोमा रौतहटको एक दलित बस्तीका बासिन्दा पराल ओछ्याएर सुत्न बाध्य छन् । चन्द्रपुर नगरपालिका– ९ डुमरियामा रहेका करिब ९५ घर मुसहर परिवार न्यानो ओढ्ने–ओछ्याउने नभएका कारण पराल ओछ्याएर सुत्न बाध्य भएका हुन् । 

दिनभरि ज्याला–मजदुरी गरेर दुई छाकको जोहो गर्ने दलित समुदाय चिसोका कारण काममा समेत जान नसकेको बताउँछन् । झ्याल–ढोका नभएका नाम मात्रको पक्की घरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीय शान्ति देवी गुनासो गर्छिन् । ‘शीतलहरमा घरभित्रै शीत झर्ने, वर्षाको पानी पनि घरभित्रै छिर्ने र हावाहुरीका कारण घरमा पकाएर खान नसक्ने अवस्था छ,’ उनले भनिन् ।

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको पक्की घरसमेत गुणस्तरहीन भएका कारण वर्षाको पानी घरभित्र छिर्ने, चैत–वैशाखमा हावाहुरीले सताउने र जाडोको वेला जस्तापाताबाट शीत झरेर सुत्नै नसक्ने अवस्था भएको स्थानीय रामदेव माझीले बताए । तराईमा बढेको शीत जस्तापाताबाट घरभित्रै तपतप चुहिने गरेकाले घरमा पराल ओछ्याएर सुते पनि माथिबाट शरीरमा शीत झर्ने गरेको उनको भनाइ छ । 

सरकारले बनाइदिएको पक्की घरमा स्थानीय पराल ओछ्याएर सुत्न बाध्य छन् । बाक्लो हुस्सु र शीतलहरबाट बच्न दलित बस्तीका बासिन्दा परालको घुर अर्थात् आगो तापेर दिन बिताउँछन् । स्थानीय सरकारले अरू केही नगरे पनि आफ्नो बस्तीमा आगो ताप्न दाउराको व्यवस्था गरिदिनुपर्ने स्थानीय अक्लु माझीले बताए । नगरपालिकाले जाडोबाट बच्न दाउरा वितरण गरेको आफूले सुने पनि बस्तीमा दाउरा दिन कोही नआएको उनको भनाइ छ ।

जाडोका कारण डुमरियाको मुसहर बस्तीको अवस्था नाजुक रहेको स्थानीय विक्रम चौधरीले बताए । स्थानीय सरकारले दलित समुदायलाई जाडोबाट बचाउन तत्काल उचित राहत उपलब्ध गराउनुपर्ने उनले माग गरे ।

चिसोले हजारौँ परिवारको समस्या बढाए पनि राहतका लागि जिल्ला–जिल्लामा खास तयारी छैन । मधेस प्रदेश सरकारले विगतमा जिल्ला प्रशासन कार्यालयमार्फत विपन्न गरिब परिवारलाई चिसो छल्न कम्बल वितरण गरेको थियो । यस वर्ष चिसोले जनजीवन प्रभावित भइरहँदा तयारी शून्यप्रायः छ ।

पश्चिम तराईमा पनि उस्तै समस्या, चिसोले बाँकेका अल्पसंख्यक समुदाय प्रभावित
मंगलबारदेखि बढेको चिसोले बाँकेको जनजीवन प्रभावित भएको छ । चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, दमका रोगी र दीर्घरोगी तथा अल्पसंख्यक समुदाय प्रभावित भएका छन् । 

चिसो हावा चल्न थालेपछि रोक्न खर र परालको टँटरी बनाउन लागेको नेपालगन्ज उपमहानगरपालिका– ९ खट्कनपुरका ७१ वर्षीय रामशंकर खटिकले बताए । उनले चिसोबाट जोगिने उपाय खोजिरहेको बताए । चिसो हावा छेक्न भित्तामा धोतीको टुक्रा बाँधेका उनले छाप्रोको ढोका देखाउँदै भने, ‘हावा यहाँबाट सीधै घरभित्र छिर्छ । चिसोले रातभर सुत्न सकिँदैन । थोरै भए पनि राहत मिल्छ कि भन्ने आशा छ ।’

चिसोले बाँकेमा बसोवास गर्ने चिडिमार, खटिक, पत्थरकट्टा, मगन्तालगायत अल्पसंख्यक तथा पिछडिएका समुदाय प्रभावित भएका छन् । शीतलहरले आफ्नो समुदायका अधिकांश वृद्धवृद्धा र बालबालिकालाई रुघाखोकी लागेको नेपालगन्ज उपमहानगरपालिका– ९ खट्कनपुरका चन्दा खटिकले बताए । ‘चिसो हावासँगै घाम नलागेपछि सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका र दमका बिरामी प्रभावित भएका छन्,’ उनले भने । 

जाडोमा लगाउने र ओढ्ने न्यानो कपडा नभएकाले चिसोले सताएको नेपालगन्ज उपमहानगरपालिका– १२ चिडिमार टोलका रामविलास चिडिमारले पीडा पोखे । उनले चिडिमार टोलका अधिकांशसँग ओढ्ने–ओछ्याउने र लगाउने न्यानो कपडा नभएको बताए । ‘चिसोले हाम्रो टोलका सबै प्रभावित भएका छौँ, तर बालबालिका, वृद्धवृद्धा र दमका बिरामी धेरै प्रभावित भएको देखिन्छ,’ उनले भने । 

चिसो हावा चलेका कारण अधिक चिसो महसुस गरिएको नेपालगन्ज उपमहानगरपालिका– २ घरबारी टोलका गोपाल ओलीले बताए । उनले चिसो हावाले बाहिर निस्कन नसकेको बताए । ‘दिनभर घाम लागेन, चिसो हावाले मुटु काँप्यो,’ उनले भने । 

चिसोका कारण नेपालगन्ज, कोहलपुर, राँझा, खजुरालगायत सहर सुनसान भएका छन् । किनमेल गर्ने ग्राहक नआउँदा व्यापारीहरू हिटर तापेर ग्राहक पर्खिरहेको देखिन्थे । ‘शीतलहर सुरु भएदेखि यात्रु पाउन छाडेको नेपालगन्जका रिक्साचालक दिवस चौधरीले बताए । उनले नेपालगन्जमा किनमेल गर्नेको संख्या ह्वात्तै घटेको बताए । ‘अति आवश्यक कामबाहेक अन्य सर्वसाधारण बजारमा निस्केको देखिँदैन,’ उनले भने । 

कठ्यांग्रिने चिसोमा त्रिपालमुनि बाढीपीडित
शीतलहर चलेसँगै केही दिनयता कैलालीमा चिसो निकै बढेको छ । मध्य पुसको कठ्यांग्रिँदो चिसोले भजनी नगरपालिका– ९ भुरुवाका १८ परिवार बाढीपीडित थप पीडित बन्न पुगेका छन् । गत असोज ०७८ मा गएको बाढीबाट जायजेथा गुमाएका उनीहरू गाउँनजिकैको जंगलछेउमा त्रिपालको भरमा बस्दै आएका छन् । बाढीले उनीहरूमध्ये केहीको घरजग्गा बगाएको छ भने केही डुबानमा परेका थिए । घर बगेका र भत्केका भने १५ महिनादेखि त्रिपालमुनि रात बिताइरहेका छन् ।

अघिल्लो वर्षको चिसो जसोतसो बिताएका उनीहरू यस वर्ष कसरी कटाउने होला भन्ने चिन्तामा छन् । बाढीपीडित मनीषा चौधरी बढ्दो चिसोका कारण बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन् । अरूले पनि आगो तापेर रात बिताउनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । गत असोजमा कान्द्रा नदीमा आएको बाढीले घर बगाएपछि मनीषाको परिवार पनि जंगलछेउ त्रिपाल टाँगेर बस्दै आएको छ । उनले भनिन्, ‘जाने ठाउँ कतै नभएपछि यही त्रिपाल टाँगेर बस्दै आएका छौँ ।’

असोज पहिलो र तेस्रो सातामा आएको बाढी र डुबानले गाउँका अधिकांश परिवार विस्थापित भएका थिए । बाढी घटेसँगै केही घर फर्के पनि घर बगाएका र क्षतिग्रस्त भएका परिवार यहीँ बसिरहेका छन् । विस्थापितमध्येकै अर्का पृथ्वी राजी बाढीले घर क्षतिग्रस्त पारेपछि यतै बसिरहेको बताए । ‘विकल्प नै नभएपछि यहाँ आएर त्रिपालमुनि बस्नुपरेको हो,’ उनले भने, ‘चिसोले त्रिपालको बसाइ कष्टपूर्ण बनेको छ ।’ 

चिसोबाट मधेसमा पाँच वर्षमा ८७ को मृत्यु
पाँच वर्षमा मधेसमा शीतलहरका वेला चिसोले कठ्यांग्रिएर ८७ जनाको मृत्यु भइसकेको छ । मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी ०७४ मा २१ महिला र ३४ पुरुष गरी ५५ जनाको चिसोकै कारण मृत्यु भएको थियो । ०७५ मा एक महिला र एक पुरुष गरी दुईजना, ०७६ मा तीन महिला र चार पुरुष गरी सातजना, ०७७ मा तीन महिला र सात पुरुष गरी १० जना र ०७८ मा दुई महिला र एक पुरुष गरी तीनजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए । यस वर्ष सर्लाहीमा तीन, सिराहा र सप्तरीमा एक–एकजनाको चिसोको कारण ज्यान गइसकेको छ । 

कोषमा पैसा छ, राहतका लागि छैन तत्परता 
सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रदेशबाट अझैसम्म कुनै सहयोग वा निर्देशन आइनसकेको बताए । स्थानीयस्तरमा पालिका, प्रहरीलाई दाउरा, कम्बल बाँड्न आग्रह गरिएको भन्दै उनले मधेस प्रदेश सरकारबाट यस वर्ष चिसो प्रभावितलाई जोगाउन अझै कुनै सामग्री प्राप्त नभएको बताए । जब कि चालू आर्थिक वर्ष ०७९/८० मा मधेस सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्रदेशभरि विपत् जोखिम न्यूनीकरण गर्न सात करोड विनियोजन गरेको छ । त्यसबाहेक प्रदेश विपत् व्यवस्थापन कार्यकारी कोषमा पनि तीन करोड १० लाखा रुपियाँ छ । नयाँ पत्रीकामा समाचार छ ।

कमेन्टहरु