किसानलाई अनुदानमा मिनीटिलर


जुम्ला । परम्परागत कृषिबाट किसानलाई मुक्त बनाउनका लागि जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले जिल्लाका २० किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ ।
कृषि उद्यमीलाई मर्मतसम्भारको तालिमसहित मिनीटिलर वितरण गरिएको हो । तालिमसहित पहिलो चरणमा सोमबार मिनीटिलर किसानलाई वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनीटिलर वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।
व्यावसायिक खेती गर्दै आएका किसान र कृषि उद्यमीलाई उक्तमिनिटिलर हलो उपलब्ध गराइएको हो । किसानले उपकरण सही तरिकाले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको छ ।
कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि खेतीपाती गर्न सहज हुने भन्दै किसानले खुसी व्यक्त गरेका छन् ।






















