रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह


काठमाडाैँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गरेका छन्। उनले रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु, दर्जनौँ घाइते तथा नागरिक पूर्वाधारमा क्षति भएको बताउँदै त्यस्ता आक्रमणलाई ‘आतङ्कवाद’ भनेका छन्।
एक्समा आइतबार पोस्ट गर्दै उनले रुसी जेट इन्जिनयुक्त ड्रोनले किएभका दुई बालविकास केन्द्र, दुई विद्यालय, आवासीय भवन, मोटर मर्मत केन्द्र, गोदाम तथा सञ्चार संरचनामा आक्रमण गरेको दाबी गरे। उनका अनुसार अघिल्लो दिनदेखि रुसले २७७ वटा आक्रमणकारी ड्रोन प्रयोग गरेकोमा १५५ वटा जेट इन्जिनयुक्त थिए। किएभमा साउदी अरबका राजदूतको निवासका रूपमा प्रयोग भइरहेको भवन तथा डिनिप्रोको खेलकुद विद्यालय र सुमीको क्षेत्रीय बालगृहमा समेत क्षति पुगेको उनले बताए।
रुसले तनाव कम गर्ने दिशामा अघि बढिरहेको दाबीप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले त्यस्तो तयारी भए किएभमा यति ठूलो ड्रोन आक्रमण नहुने बताए। उनले रुसले कूटनीतिक सङ्केतमार्फत युद्धप्रतिको अन्तर्राष्ट्रिय प्रतिक्रियामा ढिलाइ गराउने प्रयास गरिरहेको आरोप लगाए।
उनले अमेरिकी प्रतिबन्धसम्बन्धी कानून कार्यान्वयन गर्न तथा जी–७ र जी–२० का साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट रुसमाथि थप दबाब दिन आग्रह गरे। रुसी वित्तीय सञ्जाल, हतियार उत्पादनमा प्रयोग हुने सामग्री तथा उपकरणको आपूर्ति सञ्जाल र ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादनमा संलग्न कम्पनी तथा व्यक्तिविरुद्ध नयाँ प्रतिबन्धका प्याकेज तयार भइरहेको उनले बताए।
यसैबिच रुसी समाचार संस्था तासका अनुसार युक्रेनको सशस्त्र बलले पछिल्लो २४ घण्टामा डोनेट्स्क जनगणतन्त्रको आवासीय क्षेत्रमा ११ पटक गोलाबारी गरेको रुसी पक्षले जनाएको छ । गोलाबारीबाट दुई आवासीय भवन र दुई नागरिक पूर्वाधारमा क्षति पुगे पनि सर्वसाधारणतर्फ कुनै हताहत नभएको जनाइएको छ।
रुसी रक्षा मन्त्रालयले रुसका विभिन्न क्षेत्र तथा कृष्ण सागरमा ४३ वटा युक्रेनी ड्रोन नष्ट गरेको तथा किएभको ओमेगा टेलिकम तथ्याङ्क केन्द्र, ओडेसाको नोभाया पोच्टा रसद केन्द्र र सैन्य उपकरण बोकेको कार्गो जहाजमा आक्रमण गरेको दाबी गरेको छ। यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
यसअघि सेप्टेम्बर २६ मा राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै युद्ध समाधान गर्न चाहेको बताएका थिए। यसैबिच राष्ट्रपति जेलेन्स्कीले सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै भारतसहित ४६ देशलाई आफ्ना नागरिकलाई छल र विभिन्न उपायमार्फत युद्धमा संलग्न हुनबाट रोक्न आग्रह गरेका थिए।






















