Opens in a new tab

प्रबास

म्यानमामा बाढी र पहिरोबाट १० जनासम्मको मृत्यु भएको आशङ्का, ३० जना बेपत्ता

नवलपुर टुडे
२०८३ अशोज १२ | मध्यान्ह ०४:०६ बजे

काठमाडाैँ । म्यानमाको दक्षिणी टानिन्थारी क्षेत्रमा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७ देखि १० जनासम्मको मृत्यु भएको हुन सक्ने र २० देखि ३० जना बेपत्ता रहेको बताइएको छ।

भारी वर्षाका कारण टानिन्थारी क्षेत्रका विभिन्न टाउनसिपमा बाढी र पहिरो आएको छ। केही गाउँमा सडक अवरुद्ध भएपछि पैदल मात्र पुग्न सकिने अवस्था रहेको उद्धारकर्मीहरूले बताएका छन्। स्वयंसेवी संस्था दावेई जाबुथिरी इमर्जेन्सी मेडिकल सर्भिसका अध्यक्ष म्यो मिनका अनुसार उद्धार टोलीले सयौँ विस्थापितलाई स्थानीय मठमन्दिरमा बनाइएका अस्थायी आश्रयस्थलमा पुर्‍याएका छन्।

उनका अनुसार अहिलेसम्म हताहतको आधिकारिक पुष्टि भएको छैन। उद्धार तथा राहत टोलीले प्रभावित क्षेत्रको अवस्था पूर्ण रूपमा मूल्याङ्कन गर्न नसकेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ।

म्यानमामा जारी गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ। द्वन्द्वका कारण प्राकृतिक विपद्बाट भएको क्षतिको वास्तविक विवरण संकलन गर्न मानवीय सहायता संस्थाहरूलाई समेत कठिनाइ हुने गरेको छ।

यसैबिच छिमेकी थाइल्यान्डको राजधानी बैंकक पनि भारी वर्षाका कारण बाढीबाट प्रभावित भएको छ । करिब ४८ घण्टासम्म परेको लगातार वर्षापछि घर, पसल र सडक जलमग्न भएका थिए।

बैंकक महानगर प्रशासनका अनुसार करिब चार हजार ९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजार घरपरिवार बाढीबाट प्रभावित भएका छन्।

कमेन्टहरु