कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको ११औँ साधारण सभा सम्पन्न

कपिलवस्तु । साेमबार गाउँपालिकाकाे सभाहल खडैचामा साझेदारी बनकाे साधारण सभा भव्य रुपमा भएको हाे । सभामा बन संरक्षण, वृक्षारोपण, बन पैदावार तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाले चर्चा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक बनले बिरुवा वितरण गर्दै आएकाले बन संरक्षणमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले बन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबाीच कानुन बाझिएको हुँदा काम गर्न कठिनाई भएको बताए ।
यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै बन संरक्षणका गतिविधि अघि बढाइरहेको बताए । उनले बन संरक्षण, बन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तनका कारण देखिएका समस्या न्यूनीकरणका लागि सरोकारवाला सबैले संरक्षण अभियानलाई प्रभावकारी बनाउनुपर्ने अध्यक्ष थापाको भनाई छ । खाली जग्गामा वृक्षारोपण गर्ने तथा घर-घर र व्यक्ति-व्यक्तिबाटै वृक्षारोपणको अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
यसैगरी कपिलवस्तु साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले बन संरक्षणसँगै हरित क्रान्तिको अभियानमा समूह अघि बढिरहेको बताए । उनले खडा रुखको लिलाम प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरे ।
कपिलवस्तुका डिभिजनल बन अधिकृत गणेश बहादुर खड्काले साझेदारी बनलाई तीनै तहका सरकार र सरोकारवालाबीचको उत्कृष्ट अभ्यासका रूपमा लिन सकिने बताए । साझेदारी बनले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम, जलाधार संरक्षण तथा बन पैदावार उत्पादनसँगै स्थानीय समुदायलाई लाभ पुर्याउने काम गर्दै आएको उनले उल्लेख गरे ।
कार्यक्रममा विजयनगर गाउँपालिका-७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव शनिउल्ला धोबीले पनि सम्बोधन गरेका थिए ।
साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिमा अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने सदस्य अकबर हुसेनले स्वागत मन्तव्य राखेका थिए ।























