मुख्य समाचार

मन्त्री आलेको ठाडो निर्देशन : मौसम सफा नभए उडान अनुमति नदिने

नवलपुर टुडे
२०७९ जेष्ठ १७ | मध्यान्ह ०५:०२ बजे

 

काठमाडौं । संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेको ठाडो निर्देशनमा प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा हुने पर्ने निर्णय भएको छ । मन्त्री आलेको ठाडो निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अब इनरुटको मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने निर्णय गरेको हो । आइतबार तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको मृत्यु भएसँगै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुनेछ । ‘उडान सुरक्षालाई मध्यनजर गरी यो नियम कडाइका साथ लागू गर्ने निर्णय भएको छ’ उनले भने । अहिले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा भएको निश्चित भएपछि जहाजहरुलाई उडानको अनुमति दिने गरिएको छ । पछिल्लो निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने भएको छ । यसको कडाइका साथ पालना गरिने समेत कर्णले बताए ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानिनेछ । नेपालमा मौसमको पूर्वानुमान गर्ने आधिकारिक निकायले विभाग नै हो । त्यसो त हरेक वर्ष प्राधिकरणले कम्पनीहरुलाई मनसुन सर्कुलर समेत जारी गर्छ । यो वर्ष पनि एक साता अगाडि मात्रै प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई बोलाएर मौसमको समयमा गर्न हुने र नहुने कामबारे जानकारी गराएको थियो । प्राधिकरणको सर्कुलर अनुसार जहाजहरु कुनै पनि जोखिम मोलेर उडाउनु हुँदैन ।

आइतबार भएको तारा एयरको जहाज दुर्घटनाबारे जाँच आयोग गठन भएको छ । दुर्घटनाको कारण सोही आयोगले पत्ता लगाउने छ । तर, तारा एयरको जहाज दुर्घटनामा प्रतिकुल मौसम मूख्यका कारण रहेको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराएका थिए । सो क्षेत्रमा प्रतिकुल मौसमले आकस्मिक उद्धारमा समेत समस्या आएको थियो ।

कमेन्टहरु