बाढीको भेलमा जीवन खोज्दै नेपाली सैनिक


काठमाडौँ । ‘बाँचे देशकै सेवा गर्छु, मरे देशकै लागि मर्छु’—नेपाली सेनामा भर्ती हुँदा लिएको यही शपथ अभिषेक शाहीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका बीच पनि बिर्सिएनन्। आफ्नो ज्यानको जोखिम मोलेर उनीसहितको टोली बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिइरह्यो।
गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिमसम्म ठूलो क्षति पुर्यायो। बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याउनुका साथै धेरै मानिसलाई बेपत्ता बनायो।
भोटेकोशीमा बाढी आएको दिन चारैतिर पानी, लेदो र गेग्रानले भरिएको थियो। आफन्त हराएका परिवारबाट ‘छिटो खोजिदिनुस्’ भन्ने आग्रह आइरहेको थियो। चारैतिर रुवाबासी थियो। जोखिम पनि उत्तिकै थियो। तर अभिषेकसहितको उद्धार टोली रोकिएन।
“हामीलाई आफ्नो ज्यानको माया गरेर बसिरहने छुट थिएन। त्यसबेला सेकेन्ड–सेकेन्डको अत्यन्त महत्व थियो। केही सेकेन्डकै कारण कसैको ज्यान जोगिन्थ्यो भने केही सेकेन्ड ढिला गर्दा कसैको ज्यान जान सक्थ्यो,” अभिषेकले भने।
बाढीको बहाव बढिरहेको थियो। लेदो र गेग्रानका कारण हिँडडुल गर्नसमेत कठिन थियो। कतिपय ठाउँमा खुट्टा गडेपछि निकाल्नसमेत समस्या हुन्थ्यो। जल विज्ञान तथा अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जोखिम यथावत् रहेको भन्दै सतर्क रहन पूर्वसूचना जारी गरिरहेको थियो।
तर उद्धार टोली भने जोखिमकै बीच प्रभावित क्षेत्रमा पुग्नुपर्ने अवस्थामा थियो।
“कतिबेला अर्को भेल आउँछ भन्ने निश्चित थिएन तर पनि डर लागेन। मर्नै परे पनि डर नमान्ने मानसिकताले हामीलाई साहस दिने रहेछ,” अभिषेकले भने।
मोबाइल नेटवर्कले काम नगरेका बेला उद्धार टोलीका लागि हाते रेडियो सेट अर्थात् वाकी–टकी सूचना आदानप्रदानको मुख्य माध्यम बनेको थियो। जोखिमसम्बन्धी सूचना रेडियोमार्फत प्राप्त हुन्थ्यो र त्यसकै आधारमा उद्धार टोलीले आफ्नो गतिविधि अघि बढाउँथ्यो।
टनेलभित्र जीवनको खोजी
बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा मानिस फसेको हुनसक्ने भन्दै उद्धार टोलीले तत्काल खोजी सुरु गर्यो। तर सुरुङभित्र लेदो र गेग्रान भरिएका कारण अगाडि बढ्न निकै कठिन थियो।
“बाढीपछि जलविद्युत् आयोजनामा मानिस फसेका छन् कि भनेर उद्धार जतिसक्दो छिटो गर्नुपर्ने थियो। तर टनेलमा लेदो यति बाक्लो थियो कि अगाडि बढ्नै सकिँदैनथ्यो। पानीको सतह पनि कम भएको थिएन। गेग्रानले बाटोसमेत चिनिँदैनथ्यो,” अभिषेकले भने।
उनका अनुसार सुरुङभित्र प्रवेश गर्नुअघि जोखिमको अवस्था बुझ्न आवश्यक थियो। त्यसैले सुरुआती तीन दिन पानी निकाल्ने र बाटो खुलाउने काम गरिएको थियो। त्यसपछि मात्रै कतिपय स्थानमा उद्धार टोली प्रवेश गर्न सकेको उनले बताए।
टनेलभित्र कुनै समस्या आए तत्काल सूचना दिन वाकी–टकी भरपर्दो माध्यम थियो। उद्धार टोलीले सम्भावित जोखिमको आँकलन गर्दै अघि बढ्ने गरेको थियो।
उद्धारमा खटिएका अर्का सैनिक जवान दीपक राईका लागि पनि त्यो समय सहज थिएन। भोक, तिर्खा, थकान र जोखिमका बीच उनीहरू अँध्यारो सुरुङमा टर्चलाइटको सहाराले जीवित मानिस तथा शवको खोजीमा जुटेका थिए।
कतिपय शव कुहिइसकेका अवस्थामा भेटिन्थे। शवको कुनै अंग समात्दा छुट्टिएर आउने अवस्था समेत रहेको राईले बताए। कुहिएका शवको दुर्गन्धका कारण वान्ता आउँथ्यो। सुरुङभित्र खानसमेत सकिने अवस्था थिएन।
तर आफन्तले आफ्ना प्रियजन जीवितै भेटिने आशा राखिरहेका हुन्थे। उद्धारमा ढिलाइ भएको भन्दै आउने गुनासोलाई पनि टोलीले स्वाभाविक रूपमा लिने गरेको राईले बताए।
“आफन्तहरू आफ्ना प्रियजन फर्किएलान् भन्ने आशामा हुन्छन्। त्यसैले आवेगमा आएर गुनासो गर्नु स्वाभाविक हो,” उनले भने।
तालिमले दियो कठिन अवस्थामा काम गर्ने साहस
विपद् व्यवस्थापनसम्बन्धी तालिम र नियमित अभ्यासले कठिन परिस्थितिमा काम गर्न सहज बनाएको राईले बताए।
“विपद्मा काम गर्न आवश्यक तालिम र अभ्यासले कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी बहन गर्न सिकाउने रहेछ। हामीले विपद्सम्बन्धी तालिम लिएका थियौँ, त्यसैले सहज भयो,” उनले भने।
तालिमसँगै आवश्यक उपकरण र कर्तव्यबोधले पनि उद्धारमा ठूलो सहयोग गरेको उनले बताए।
“हामीलाई मोटिभेसनले काम गर्छ। त्यसबेला हामीले जति ढिला गर्छौँ, बाँचिरहेका मानिस पनि मर्न सक्छन् भन्ने कुरा मात्रै दिमागमा आउने रहेछ,” राईले भने।
यही जिम्मेवारीबोधका कारण बाढी, लेदो र गेग्रानको जोखिमबीच पनि उद्धार टोलीले आफ्नो कामलाई निरन्तरता दियो।
सैनिक जवान प्रमोद केसीका लागि पनि बाढीपछिका सुरुआती चार दिन सबैभन्दा चुनौतीपूर्ण रहे। कतिपय सुरुङमा सात फिटसम्म लेदो जमेको थियो। सडक र पुल बगेका कारण पैदल हिँडेर समेत प्रभावित क्षेत्रमा पुग्न कठिन थियो।
“हराएकाहरूको खोजी गर्नुपर्ने थियो। घाइतेको उद्धार गर्नुपर्ने थियो। आफैँ जोखिममा पर्न सक्ने अवस्था भए पनि जोखिममा परेकालाई जोगाउनु हाम्रो कर्तव्य थियो,” केसीले भने।
जोखिमका बीच निरन्तर खोजी
भोटेकोशी बाढीपछि उद्धारमा खटिएका सैनिकका लागि जोखिम नयाँ थिएन। कतिपयका आफन्तले समेत पुनः जोखिम आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए। तर बेपत्ता व्यक्तिको खोजी गरी परिवारलाई जानकारी गराउन सक्नु नै उनीहरूका लागि ठूलो सफलता थियो।
उद्धार सफल भएर कसैलाई जीवितै बाहिर निकाल्न सक्दा टोलीमा खुसी छाउँथ्यो। तर लामो प्रयासपछि पनि जीवन नभेटिँदा भने उद्धारकर्मीको मन भारी हुन्थ्यो।
सुजित जोशी, ज्ञानेन्द्र डाँगी, महेश कार्की, सुरेन्द्रकुमार रोकाय, इन्द्रबहादुर गुरुङ, दिनेश तामाङ र नारायण शर्मालगायतका सैनिक पनि भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा निरन्तर खटिएका छन्।
नेपाली सेनाका सहायक रथी सुवासजङ्ग थापाका अनुसार सुरुङभित्र जोखिमपूर्ण अवस्थामा काम गर्दा उद्धार टोलीका केही सदस्यमा ज्वरो आउने, छाला चिलाउने र वान्ता हुनेजस्ता स्वास्थ्य समस्या पनि देखिएका थिए।
“कतिपय हाम्रा उद्धार टोलीका सदस्यलाई ज्वरो आउने, छाला चिलाउने, वान्ता आउनेलगायतका स्वास्थ्य समस्या पनि देखियो। यी लगायत अन्य जोखिमका बाबजुत पनि उनीहरू खोजी तथा उद्धारमा खटिए,” थापाले भने।
उनका अनुसार जोखिम मोलेरै भए पनि अरूको सुरक्षा गर्नु उद्धार टोलीको दायित्व थियो।
जलविद्युत् आयोजनामा जीवितै उद्धार
लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाले बाढी आएको दिन भदौ १० गते नै हेलिकप्टरबाट रेकी गरेको थियो। आयोजनाको सुरुङमा भदौ १३ गतेदेखि भारतीय विज्ञ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार सुरु गरिएको थापाले बताए।
त्यस्तै, चिलिमे जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै रेकी गरिएको थियो। भारतीय विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोज तथा उद्धार सुरु भएको उनले बताए।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा पनि भदौ १० गते नै रेकी गरिएको थियो। चिनियाँ विज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि खोजी सुरु गरिएको थियो।
“११औँ दिनको प्रयासपछि एक चिनियाँ नागरिकको जीवितै उद्धार गरियो,” थापाले भने।
त्यसैगरी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढी आएको १०औँ दिनमा दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको उनले बताए।
“लामो प्रयासपछि दुई जनालाई जीवितै बाहिर निकाल्न सकिएको त्यो क्षण उद्धार टोलीका लागि खुसीको थियो। एकदमै खुसी महसुस भयो,” थापाले भने।
ड्रोनदेखि हवाई उद्धारसम्म
भोटेकोशी बाढीपछि नेपाली सेनाले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोज तथा उद्धारलाई निरन्तरता दिएको छ।
त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका क्षेत्रमा आधार बनाएर टोली परिचालन गरिएको थापाले बताए।
सडक सम्पर्क टुटेका स्थानमा जमिनबाट पुग्न सम्भव नभएपछि ड्रोनलाई समेत उद्धार तथा राहतको माध्यम बनाइएको थियो। दुर्गम बस्तीमा अत्यावश्यक खाद्यान्न तथा राहत सामग्री पुर्याउन नेपाली सेनाले ड्रोन प्रयोग गरेको उनले बताए।
नेपाली सेनाका अनुसार हवाई साधनमार्फत प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म चार हजार २४२ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ९५९ नेपाली र २८३ विदेशी नागरिक छन्।
भोटेकोशीको बाढीले रसुवादेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्व र पश्चिमसम्म प्रभाव पारेपछि नेपाली सेनाका आठ हजार २०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन गरिएको सेनाले जनाएको छ।
बाढीले बस्तीको स्वरूप बदलिदिएको छ। धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्। कतिपयको खोजी अझै जारी छ। तर जीवनको सम्भावना रहेसम्म खोजिरहने अठोट बोकेर नेपाली सेनाका उद्धारकर्मी अझै प्रभावित क्षेत्रमै छन्।
आफ्नो ज्यान जोखिममा राखेर अरूको जीवन खोजिरहेका ती सैनिकका लागि भोटेकोशीको बाढी उद्धारको एउटा घटना मात्र होइन, सेनामा प्रवेश गर्दा लिएको शपथ व्यवहारमै उतार्ने अर्को मोर्चा बनेको छ।





















