सेवा प्रवाहमा सुधारपछि देशभर सहज बन्दै पासपोर्ट सेवा


काठमाडौँ , असोज १६ गते । राहदानीको नयाँ प्रणाली लागू भए पश्चात राहदानी विभागले देशभर आफ्नो सेवा प्रवाहलाई प्रविधिमैत्री, व्यवस्थित र झन्झटमुक्त बनाएपछि पासपोर्ट बनाउने सेवाग्राहीहरूले राहतको महसुस गरेका छन् । विगतमा राहदानी लिन वा आबेदन भर्न बिभिन्न बाध्यताको सास्ती झेलिरहेका नागरिकका लागि अहिलेको सुधारिएको प्रणालीले उल्लेख्य सहजता थपिदिएको छ ।
राहदानी विभागले विभागसहित देशभरका ७७ जिल्ला तथा २४ इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित ३९ वटा कूटनीतिक नियोगहरू मार्फत पासपोर्टका लागि आवेदन लिने र राहदानी वितरण गर्ने कार्य गरिरहेको छ । सेवा प्रणालीमा गरिएको यो सुधारले आगामी दिनमा अझ द्रुत र प्रभावकारी सेवा प्रवाह हुने विश्वास विभागले लिएको छ ।
राहदानी नियमावली, २०७७ संशोधन पश्चात २०८३ साउन १४ गते पछि जुनसुकै जिल्ला प्रशासन कार्यालयवाट नागरिकता लिएका नागरिकले पनि जुनसुकै जिल्ला/ईलाका प्रशासन कार्यालय मार्फत राहदानी सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
राहदानी बनाउन नागरिक जुनसुकै जिल्लाबाट आवेदन गर्न सक्ने प्रावधानले गर्दा नागरिक रहे/ बसेको जिल्ला / इलाका प्रशासन कार्यालयबाट बनाउन सक्ने भएको छ । यस्तो व्यस्थाका कारण अत्यन्त जरुरी/ आकस्मिक अवस्था नपरी राहदानी विभागमा सेवा लिन आउनु पर्ने बाध्यता हटेको छ ।
विभागले कूटनीतिक, सरकारी (अफिसियल), साधारण (३४ र ६६ पृष्ठ), सर्भिस, सिपम्यान तथा शरणार्थीका लागि ट्राभल डकुमेन्ट गरी ६ प्रकारका राहदानी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को उच्च मापदण्ड बमोजिम वितरण गर्दै आएको छ ।
हाल जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट आवेदन दिने सेवाग्राहीलाई आवेदन दिएको दिनदेखि न्यूनतम १० देखि ३० दिनभित्र र अत्यावश्यक परेका खण्डमा विभागबाट आवेदन दिएको २ कार्यदिनभित्रै राहदानी तयार गरी वितरण गरिँदै आएको छ ।
राहदानी विभाग र हुलाक सेवा विभागबीच राहदानी ढुवानी सम्झौता भई ७७ जिल्ला तथा २४ इलाका प्रशासनका कार्यालयहरुमा छपाई भएका तयार राहदानी समयमा नै पठाउने गरिएको छ जसले गर्दा सेवा प्रवाहमा चुस्तता ल्याइदिएको छ ।
सार्वजनिक बिदाका दिनमा पनि सेवा, अनलाइन अपोइन्टमेन्ट प्रणाली
राहदानी विभागका निर्देशक एवं प्रवक्ता दिपक बञ्जाडेका अनुसार नागरिकलाई बिना झन्झट सहजरूपमा सेवा दिन विभाग प्रतिबद्ध रहेको छ। “हामीले विभागसहित देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली दूतावास/कूटनीतिक नियोगहरू मार्फत पासपोर्टका लागि आवेदन लिने र राहदानी वितरण गरिरहेका छौँ । विशेष गरी विभागमा अन्य सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरेर सेवाग्राहीको चाप कम गरेका छौँ । अहिले विभागमा दैनिक १,५०० भन्दा बढी अनलाइन अपोइन्टमेन्ट स्लटहरू खुला गरी आवेदन लिने र १,५०० भन्दा बढी वितरणको कामलाई तीव्र पारिएको छ,” प्रवक्ता बञ्जाडेले बताउनुभयो।
विभागले तत्कालै चाहिने सेवाग्राहीलाई विद्युतीय राहदानी प्रणालीलाई चुस्त बनाउँदै अनलाइन फारम भर्ने अपोइन्टमेन्ट प्रणालीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाएको छ । राहदानी सेवालाई सरकारले अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गरेको हुनाले शनिबार र आइतबार बाहेकका अन्य सार्वजनिक बिदा तथा पर्व/दिवसका दिनहरूमा समेत विभागको कार्यालय खुला राखी सेवा प्रवाह भइरहेको छ।
विभागको आन्तरिक व्यवस्थापन र जनशक्ति परिचालनबारे प्रशासन प्रमुख आनन्द चुवाईले ” भन्नुभयो, “हामीले राहदानी सेवालाई प्रविधिमैत्री, झन्झटमुक्त र पूर्णतः पारदर्शी बनाउन सुरुदेखि अन्तिम चरणसम्मका प्रक्रियालाई व्यवस्थित गरेका छौँ । राहदानी विभाग त्रिपुरेश्वर, देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगहरू जुनसुकै स्थानबाट आवेदन दिए पनि प्रक्रियालाई चुस्त बनाइएको छ।
विभागमा भौतिक उपस्थिति र लाइन व्यवस्थापनमा उल्लेख्य सुधार ल्याइएको बताउनुभयो । “पहिले जस्तो बिहानैदेखि लामो लाइनमा बस्नुपर्ने स्थिति अहिले हटेको छ। राहदानी अपोइन्टमेन्ट दिन तथा समय निर्धारणअनुसार आउने सेवाग्राहीले तोकिएकै समयमा फारम बुझाउने र बायोमेट्रिक दिने काम सकिन्छ । कर्मचारीहरूलाई सहजीकरणका लागि पारदर्शी ढङ्गले खटाइएको छ,” प्रशासन प्रमुख चुवाईले भन्नुभयो।
विभागको सुधारिएको सेवाबारे राहदानी लिन त्रिपुरेश्वर पुग्नुभएकी कास्की पोखराकी पार्वती कुमारी शर्मा पौडेलले आफ्नो अनुभव सुनाउदै भन्नुभयो, “पहिले पासपोर्ट बनाउन लामो लाइन बस्नुपर्छ र बिचौलियालाई पैसा नदिई कामै हुँदैन भन्ने सुनेको थिएँ । तर आज आफैँ आउँदा तोकिएको समयमै र काम सम्पन्न भयो । कुनै भनसुन र सास्ती बिना सहजै बायोमेट्रिक दिएर फर्कन पाउँदा एकदमै खुसी लागेको छ। विभागको यो सुधार साँच्चै प्रशंसायोग्य छ।” ।
नागरिक वडापत्र, नागरिक सहायता कक्ष, कल सेन्टर तथा गुनासो कक्ष सेवा
सेवाग्राहीलाई थप सहजीकरण गर्न विभागले आफ्नो परिसरमा नागरिक सहायता कक्ष तथा सो-सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जहाँबाट अशक्त, ज्येष्ठ नागरिक तथा प्रविधिमा कम पहुँच भएका सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सहजीकरण गरिन्छ । यसैगरी, राहदानी सम्बन्धी कुनै पनि जिज्ञासा, गुनासो वा जानकारीका लागि कल सेन्टरको समेत व्यवस्था गरिएको छ, जसले गर्दा नागरिकले घरमै बसेर टेलिफोन मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । राहदानी सम्बन्धी सेवा नागरिक वडापत्र मार्फत के कसरी लिन सकिन्छ जानकारी गराइएको अवस्था छ । त्यसैगरी राहदानी विभागले वेवसाइट तथा फेसबुक पेज मार्फत राहदानी सम्बन्धी सूचना निरन्तर प्रवाह गरिरहेको अवस्था छ ।
‘पासपोर्ट घर-दैलो‘ कार्यक्रम
साथै, देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट आबेदन गरेका सेवाग्राहीलाई राहदानी लिन पुनः कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै ‘पासपोर्ट घर-दैलो‘ कार्यक्रम अन्तर्गत हुलाक सेवा मार्फत सोझै सेवाग्राहीको घर-घरमा राहदानी पुर्याउने व्यवस्था समेत गरेको छ । यसले गर्दा राहदानी लिनकै लागि पुनः कार्यालयमा लाइन बस्नुपर्ने वा टाढाबाट कार्यालयसम्म धाउनुपर्ने झन्झट हटेको छ ।
नयाँ प्रणाली लागू भएपछि १ लाख ६६ हजारभन्दा बढी राहदानी वितरण
नेपाल सरकारले २०८३ साल असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली लागू गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार नयाँ प्रणाली सञ्चालनका लागि दुई जर्मन कम्पनीहरू ‘मूलवर‘ र ‘भेरिडोस‘ ले ठेक्का पाएका छन् ।
सम्झौता अनुसार मूलवरले सफ्टवेयर तथा आईटी सेवा प्रदान गर्दै आएको छ भने भेरिडोसले छपाई (प्रिन्टिङ) सम्बन्धी कार्य गरिरहेको छ । आगामी ५ वर्षका राहदानी छपाईका लागि यो सम्झौता गरिएको हो । राहदानीको गुणस्तर तथा मापदण्ड सम्बन्धमा आइकाओबाट राहदानी विभागको अडिट समेत भई राहदानी तथा यसका आन्तरिक प्रक्रिया तथा प्राविधिक पक्ष मापदण्ण बमोजिम रहेको आइकाओ सुनिश्तित भएको अवस्था छ ।
महत्त्वपूर्ण पक्षमा सुधार गर्नुपर्ने थप आवश्यकता
राहदानी सेवा प्रवाहमा सुधार आए तापनि सेवालाई अझ चुस्त, प्रभावकारी र सर्वसुलभ बनाउन आगामी दिनमा केही महत्त्वपूर्ण पक्षमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । हाल विभागबाट दैनिक करिब १,५०० को सङ्ख्यामा मात्र अनलाइन अपोइन्टमेन्ट स्लटहरू लिइँदै आएकोमा सेवाग्राहीको अत्यधिक चापलाई ध्यानमा राखी उक्त कोटामा थप वृद्धि गर्नुपर्ने देखिन्छ । त्यसैगरी, आवश्यक जनशक्ति थप गरी जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट आवेदन दिएका सेवाग्राहीको राहदानी तयार हुन लाग्ने हालको १० देखि ३० दिनको समयलाई अझ कम गरी द्रुत सेवा दिनुपर्ने आवश्यकता छ भने प्रविधिको पहुँच बाहिर रहेका साधारण नागरिक तथा ज्येष्ठ नागरिकका लागि सेवाग्राही सहायता कक्षबाट प्रत्यक्ष सहजीकरण लिनेहरूको सङ्ख्या र यसको उपयोगिता अझ बढाउनुपर्ने देखिन्छ।
नयाँ प्रणाली लागू भएदेखि हालसम्म विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय र कूटनीतिक नियोगहरू मार्फत कुल १ लाख ६६ हजार ९६४ वटा छपाई भई वितरण प्रक्रियामा रहेका छन् । हाल विभागमा कूल ११२ कर्मचारीहरुले दैनिक ३ हजार सेवाग्राहीलाई राहदानी सेवा दिइरहेका छन् । राहदानी विभाग आइएसो प्रमाणपत्र प्राप्त गर्ने पहिलो सरकारी निकाय हो जसले प्रभावकारी सेवा प्रवाह मार्फत निरन्तर रुपमा सुशासन अब्बल सावित भइरहेको छ ।






















