कांग्रेस १५औँ महाधिवेशनः असोज १८ देखि हुने महाधिवेशनको तयारी तीव्र


काठमाडौँ, असोज १६। नेपाली कांग्रेसको आगामी असोज १८ देखि काठमाडौँमा हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ।
कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको संयोजकत्वमा रहेको महाधिवेशन समारोहस्थल व्यवस्थापन समितिले काठमाडौँको खुलामञ्चमा मञ्च व्यवस्थापनको कामलाई तीव्रता दिएको हो ।
“उद्घाटन सत्रका लागि मञ्च र बन्दसत्रका लागि छुट्टाछुट्टै तीनवटा हल निर्माण भइरहेको छ, भोलि बेलुकासम्म मञ्च व्यवस्थापनको काम सम्पन्न हुन्छ”, क्षेत्रीय सभापति तिवारीले भन्नुभयो ।
मञ्च व्यवस्थापनको पछिल्लो अवस्थाबारे बुझ्न पार्टी उपसभापति विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, नेता डा चन्द्रकान्त भण्डारी, पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललगायत खुलामञ्च पुग्नुभएको छ ।
खुलामञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपसभापति शर्माले पार्टीको १५औँ महाधिवेशन असोज १८ गते दिउँसो २ः०० बजे खुलामञ्चमा भव्यताका साथ उद्घाटन हुने जानकारी दिनुभयो ।
उहाँले महाधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख र सोसलिष्ट इन्टरनेशनलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो । कांग्रेसको १५औँ महाधिवेशनमा देश र विदेशबाट सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने उहाँको भनाइ थियो ।
उद्घाटनसत्रको भोलिपल्ट असोज १९ देखि बन्दसत्र हुनेछ । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि दुई हजार ५०० प्रतिनिधि अट्न मिल्नेगरी छुट्टाछुट्टै तीनवटा हलको व्यवस्था गरिएको छ । प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै सुरु भएको छ ।
बन्दसत्रको पहिलो दिन पार्टी सभापति गगनकुमार थापाले दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले समेत नीतिगत, साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गर्नेछन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई खानाका लागि भृकुटीमण्डपमा व्यवस्थापन मिलाइएको उपसभापति शर्माले बताउनुभयो । खुलामञ्चभित्र सरसफाइ कायम राख्दै खानारखाजा पूर्ण रूपमा निषेध गरिएको छ । यस्तै, प्रतिनिधिका लागि न्यूनतम शुल्कमा आवासको प्रबन्ध मिलाइएको कांग्रेसले जनाएको छ ।
त्यसैगरी, खुलामञ्चको मञ्च नजिकै सञ्चारकर्मीका लागि मिडिया सेन्टरको व्यवस्था गरिएको उपसभापति शर्माले बताउनुभयो । महाधिवेशन अवधिभर दिनको दुईपटक पार्टी प्रवक्ता देवराज चालिसेले दैनिक ब्रिफिङ गर्ने कांग्रेसले जनाएको छ । बन्दसत्रमा पनि पालैपालो मिडिया प्रवेशको व्यवस्था मिलाइने शर्माले बताउनुभयो ।





















