Opens in a new tab

प्रबास

सुत्केरी बिदाका कारण राष्ट्रिय बहस र आलोचना खेपेकी ३६ वर्षीया मेयर टाइम म्यागजिनको सूचीमा

एजेन्सी
२०८३ अशोज १६ | मध्यान्ह ०४:०६ बजे

टोकियो । सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर बनेकी ३६ वर्षीया शोको कावातालाई टाइम म्यागजिनले विश्वका १०० प्रभावशाली उदीयमान व्यक्तिहरूको सूचीमा समेटेको छ।

गत सेप्टेम्बर १५ मा आफ्नो पहिलो सन्तानलाई जन्म दिएको केही सातापछि उनले यो अन्तर्राष्ट्रिय मान्यता पाएकी हुन्।

क्योटो प्रिफेक्चरअन्तर्गत यावाता सहरकी मेयर कावाता निर्वाचित जनप्रतिनिधिले सुत्केरी बिदा लिन पाउने कि नपाउने भन्ने राष्ट्रिय बहसको केन्द्रमा थिइन्। जन्मदर बढाउन सङ्घर्ष गरिरहेको जापानमा सुत्केरी बिदा लिने उनको निर्णयले समर्थन र आलोचना दुवै खेपेको थियो।

सामाजिक सञ्जालमा धेरैले उनको समर्थन गर्दै उनीजस्ता महिलाले परिवारलाई प्राथमिकता दिएर राजनीतिमा अन्य महिलाका लागि बाटो सहज बनाएको टिप्पणी गरेका थिए। तर आलोचकहरूले भने सार्वजनिक जिम्मेवारीबाट पन्छिनु ‘गैरजिम्मेवार’ भएको र गर्भवती हुनु थियो भने पदभार ग्रहण गर्नुअघि नै हुनुपर्ने वा लामो बिदा बस्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने तर्क गरेका थिए। केहीले सुत्केरी बिदाको अवधिमा उनको तलब कटौति हुनुपर्ने माग समेत गरेका थिए।

सुत्केरी हुनुअघि बिबीसीलाई दिएको अन्तर्वार्तामा कावाताले यस्ता आलोचनाहरूलाई बेवास्ता गर्दै आफू कामप्रति प्रतिबद्ध रहेको र परिवार सुरु गर्ने यो नै उपयुक्त समय भएको बताएकी थिइन्। उनले भनिन्, ‘यदि हामीले सुत्केरी बिदा लिने महिला राजनीतिज्ञको आलोचना गर्छौँ भने त्यसको अर्थ २० देखि ४० वर्ष उमेर समूहका सम्भावित आमा बन्न सक्ने सबै क्षमतावान् महिलाहरूलाई सार्वजनिक पदबाट बञ्चित गर्नु हो।’

जापानमा सरकारी कर्मचारीका लागि सुत्केरी बिदाको व्यवस्था भए पनि स्थानीय जनप्रतिनिधिका लागि कुनै कानुनी ढाँचा थिएन। त्यसैले कावाताले आफ्नो कार्यालयसँग मिलेर १६ साताका लागि आफ्ना अधिकार उपमेयर शिगेतो नोसेलाई हस्तान्तरण गरेकी थिइन् भने सम्भव भएसम्म अनलाइन माध्यमबाट काम गरिरहेकी थिइन्।

छोरीलाई जन्म दिएपछि कावाताले सामाजिक सञ्जालमा समर्थकहरूलाई धन्यवाद दिँदै अभिभावकत्वका चुनौतीहरूलाई आत्मसात् गर्दै त्यस अनुभवलाई आफ्ना नीतिहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। आजका अभिभावक र बालबालिकाहरूले भोगिरहेका समस्यालाई आफ्नै अनुभवका आधारमा बुझेर समाधानका उपाय खोज्ने उनको अठोट छ।

कमेन्टहरु