राजनीति

ओलीलाई प्रचण्डको चुनौती : अबको चुनावबाट प्रधानमन्त्री भएर देखाउनुस

नवलपुर टुडे
२०७९ जेष्ठ १४ | मध्यान्ह ०१:०२ बजे

काठमाडाैं, जेठ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी संसदीय चुनावमा प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले ओली दुई पटक प्रधानमन्त्री बन्दा माओवादी केन्द्रकै सहयोगमा बनेको र अब एक्लै जितेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन् ।

‘तपाईं दुई पटक प्रधानमन्त्री हुँदा माओवादी केन्द्रकै सहयोगमा हुनुभएको होइन ? एक्लै प्रधानमन्त्री भएको सम्झनुहुन्छ भने त्यो भ्रम त्यागिदिनुहोस् ।’ प्रचण्डले भने ‘तपाईंकै भाषामा भन्ने हो भने पहिलो पटक माओवादी केन्द्रकै बैशाखीमा प्रधानमन्त्री हुनुभएको हो । दोस्रो पटक हाम्रै मतमा प्रधानमन्त्री बन्नुभएको हो । एक्लै प्रधानमन्त्री बन्नुभएको हो भने अबको चुनावबाट जितेर प्रधानमन्त्री भएर देखाउनुस् ।’

सबैतिर पराजय बेहोरेपछि ओलीमा ‘रिअलाइजेसन’ भयो होला भन्ने आफूले ठानेको तर, उनको अभिव्यक्तिमा अझै पनि अहंकार र दम्भ नहटेको प्रचण्डले बताए । ‘सरकार ढल्यो, सातै प्रदेशको सरकार ढल्यो, राष्ट्रिय सभाको निर्वाचनमा उहाँहरुले जे बेहोर्नुभयो । बार एशोसिएशनको चुनाव भयो । यी सबैबाट रिअलाइजेसन भयो होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचनपछि त आत्मसमीक्षा गर्नुभयो होला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘वामपन्थी एकताको पक्षमा वातावरण बनाउने पक्षमा कुरा गर्नुहुन्छ कि भन्ने लागेको थियो । पुनःसमीक्षा गर्नेतिर जानुहुन्छ भन्ने लागेको थियो । तर, बिल्कुल आफ्नो अहंकार र दम्भबाट पछि हट्नुभएको रहेनछ ।’

आफूलाई नेकपा एमालेका धेरै कार्यकर्ताप्रति भरोसा, विश्वास रहेको तर ओलीमा धेरै दम्भ र अहंकार भएकाले वामपन्थी सहकार्यको वातावरण बन्न नसक्ने प्रचण्डको भनाई छ ।

कमेन्टहरु