सर्लाहीमा सशस्त्र प्रहरीको घुमुवा आतंक


सर्लाही, १३ माघ । मधेस प्रदेश राजधानीको महत्वपूर्ण जिल्लाको रूपमा मानिने सर्लाही जिल्लामा सशस्त्र प्रहरी घुमुवा आतंक बढेको पाइन्छ । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरीले घुमुवा परिचालन गर्नसाथ घुमुवा आतंक बढेको बारे प्रष्ट भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँको आगमन साथ घुमुवा परिचालन गर्नुले चर्चाको बिषय बनेको छ । सर्लाहीको विभिन्न सीमा नाकाहरूबाट बन्द भएको तस्करी लाइन पुन: सुचारू भएको छ । सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खनियाँले सादा पोशाकमा दुई जना प्रहरीलाई परिचालन गरेको पाइन्छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामकेवल यादव र सशस्त्र प्रहरी जवान रोशन मिश्रलाइ सादा पोशाकमा घुमुवा परिचालन गरिएको हो । उनिहरूको कार्य मात्र आर्थिक कलेक्सन रहेको बारे स्थानीयले गुनासो गर्न थालेका छन ।
सशस्त्र प्रहरी बल नेपाल संगठन एउटा अब्बल संगठनको रूपमा मानिए पनि घुमुवा चन्दा आतंकले संगठन प्रतिको बिश्वास र लोकप्रियता गुम्दै गएको स्थानीयले आरोप लगाउन थालेका छन । सीमा नाका हुँदै आवत जावत गर्ने सर्वसाधारण समेत घुमुवाको चन्दा आतंकले आजित भएको बताएका छन । ठुला बडा तस्कर समुहलाई तस्करीको लाइन दिने गरेपनि सर्वसाधारणलाई बिना कामको दुख दिदै १ देखि २ हजारसम्म रकम उठाउने गरेको स्थानीयले गुनासो पोखे ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामकेवल यादव र सशस्त्र प्रहरी जवान रोशन मिश्र बदनाम घुमुवाको रूपमा चिनिएपनि सशस्त्र प्रहरी उपरीक्षक खनियाँले खटाउनु उनको इमान्दारिता प्रति नै प्रश्न चिन्ह खडा भएको छ । एक जना मलङ्गवा निवासीका अनुसार सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरू सीमा सुरक्षाको निम्ति खटिएपनि आर्थिक प्रलोभनमा परि ठुला बडा तस्कर समुहलाई लाइन दिएको बताए । उनका अनुसार सीमा हुँदै सुर्ती, कपडा, हार्डवेयरको साथ साथै सुपारीको समेत लाइन दिइएको छ, तस्करी गरि आयात भएको सामान हरिवन लगायत नेपालको विभिन्न ठाउँहरूमा पुग्ने गर्दछ भने निर्यात भएको सुपारी भारतको विभिन्न ठाउँहरूमा पुग्ने गरेको उनले बताए ।
यता यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गणका प्रमुख भरत खनियाँले सशस्त्र प्रहरी सहायक निरीक्षक रामकेवल यादव र सशस्त्र प्रहरी जवान रोशन मिश्र आफ्नो कर्मचारी रहेतापनि घुमुवा परिचालन नगरिएको बताउदै पन्छिन खोजे । उहाँले द्वय प्रहरी सर्लाहीमा रहेको तर आफुले परिचालन नगरेको बताएका छन ।






















