Opens in a new tab

देश

डिजेलको बढ्दो मूल्यबीच विद्युतीय सवारीतर्फ आकर्षण बढ्दो:अध्ययन

नवलपुर टुडे
२०८३ अशोज १४ | मध्यान्ह ०२:०६ बजे

काठमाडौँ । युरोपमा विद्युतीय सवारीसाधन चार्ज गर्न लाग्ने खर्च डिजेलबाट चल्ने सवारीसाधनमा इन्धन भर्न लाग्ने खर्चको तुलनामा औसतमा आधाभन्दा कम रहेको एक अध्ययनले देखाएको छ ।

ब्रसेल्सस्थित वातावरण संरक्षणसम्बन्धी संस्था ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले सार्वजनिक गरेको उक्त विश्लेषणमा युरोपमा विद्युतीय सवारीसाधनको प्रयोगतर्फको रूपान्तरणलाई थप गति दिन आवश्यक रहेको उल्लेख गरिएको छ ।

संस्थाले सबैका लागि समान रूपमा इन्धन कर घटाउनुको सट्टा न्यून आय भएका परिवारलाई लक्षित गरी सहयोग उपलब्ध गराउनुपर्ने सुझाव दिएको छ । साथै, ऊर्जा कम्पनीबाट प्राप्त हुने अतिरिक्त करमार्फत सार्वजनिक यातायातको विकास तथा पुराना सवारीसाधन विस्थापन कार्यक्रमलाई सहयोग गर्न सकिने जनाएको छ ।

संस्थाका वरिष्ठ निर्देशक एन्टोनी फ्रोगाटले हाल डिजेलको मूल्य उच्च रहेको अवस्थामा युरोप ऊर्जा संकटको संवेदनशील चरणमा रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकाबाट डिजेल निर्यातमा अवरोध उत्पन्न भएमा आपूर्ति अभावको जोखिमसमेत बढ्न सक्छ ।

उहाँले दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधनको विस्तारले पेट्रोलियम पदार्थमा निर्भरता घटाउन सहयोग गर्ने बताउनुभयो । साथै, तत्कालका लागि उपभोक्ता र व्यवसायलाई राहत दिने आवश्यक उपायहरू पनि अपनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्ययनअनुसार यस वर्षको सुरुवातको तुलनामा अहिले ५० लिटर डिजेल भर्न करिब ३२ युरो बढी खर्च भइरहेको छ । यसमध्ये करिब १६ युरो बराबरको वृद्धि इन्धन प्रशोधनबाट हुने नाफामा आएको वृद्धिसँग सम्बन्धित रहेको बताइएको छ ।

युरोपेली केन्द्रीय बैंकका अनुमानअनुसार डिजेलको प्रतिलिटर प्रशोधन नाफा फेब्रुअरीमा करिब ०.१० युरो रहेकोमा सेप्टेम्बर १४ आसपास ०.४१ युरो पुगेको थियो ।

अध्ययनमा सवारीसाधनमा इन्धन भर्ने तथा विद्युतीय सवारी चार्ज गर्ने प्रत्यक्ष खर्चलाई मात्र तुलना गरिएको छ । यसका लागि डिजेल सवारीसाधनले १०० किलोमिटरमा औसत ६.९ लिटर इन्धन खपत गर्ने र ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनले सोही दूरीमा औसत २०.२ किलोवाट घण्टा विद्युत् खपत गर्ने आधार लिइएको छ ।

विद्युत्को औसत मूल्य प्रतिकिलोवाट घण्टा ०.३४३ युरोका आधारमा गरिएको गणनाअनुसार विद्युतीय सवारीसाधन चार्ज गर्ने खर्च डिजेलमा लाग्ने इन्धन खर्चभन्दा उल्लेखनीय रूपमा कम देखिएको हो ।

संस्थाका अनुसार विद्युत् र ग्यासको मूल्यबीचको सम्बन्ध तथा घरायसी विद्युत् मूल्यमा देखिने ढिलो प्रभावलाई समेत अध्ययनमा समेटिएकाले चार्जिङ खर्चसम्बन्धी अनुमान वास्तविक खर्चको उच्च सीमातर्फ हुन सक्ने सम्भावना छ ।

यसअघि गरिएको अर्को अध्ययनमा आठ ठूला तेल कम्पनीमध्ये छवटाले सन् २०२६ को दोस्रो त्रैमासिकमा युरोपेली संघभित्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी नाफा कमाएको उल्लेख गरिएको थियो ।

त्यस्तै, सोमबार सार्वजनिक गरिएको अर्को अध्ययनले युरोपेली संघका नौ प्रमुख बजारमध्ये छवटा बजारमा ब्याट्रीबाट चल्ने विद्युतीय भारी ट्रकको कुल स्वामित्व खर्च डिजेल ट्रकको तुलनामा कम रहेको देखाएको छ । ती छवटा बजारले युरोपेली संघमा बिक्री हुने नयाँ भारी ट्रकको करिब ४६ प्रतिशत हिस्सा ओगट्ने बताइएको छ ।

ऊर्जा तथा आवाससम्बन्धी युरोपेली संघका आयुक्त डान योर्गेन्सेनले सम्भावित रूपमा उच्च ग्यास मूल्यको प्रभाव कम गर्न सदस्य राष्ट्रहरूले ऊर्जा बचतसम्बन्धी उपायहरू अपनाउन विचार गर्नुपर्ने बताए ।

यसैबीच, ट्रान्सपोर्ट एन्ड इन्भाइरोन्मेन्टले ऊर्जा संकटको प्रभाव ग्यासमा मात्र सीमित नभएकाले तेल र डिजेलको मूल्यवृद्धितर्फ पनि पर्याप्त ध्यान दिन युरोपेली आयोगलाई आग्रह गरेको छ ।

कमेन्टहरु