तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा


रसुवा । उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत् ३३ जना विद्यार्थी हरेक दिन ज्यानलाई जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन् । यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले खोला तर्ने, गाडीमा झुन्डिने र तुइनमा वारपारको सास्ती खेप्नुपरेको हो ।
उक्त विद्यालयकी शिक्षिका रन्जना थापा भन्छिन्, “भोटेकोशी बाढीपछि शान्तिबजार र पैरेबेँसीबाट आउने विद्यार्थीले दैनिक रूपमा त्यस्तै कष्टपूर्ण यात्रा तय गर्दै विद्यालय आइपुग्ने गरेका छन् ।”
ढुङ्गे बजारबाट पुनः माइक्रोबस चढेर आङ्गिटार पुग्ने ती विद्यार्थी सिहाले गाउँको आधा घण्टाको उकालो पैदलपछि मात्र बेत्रावती आइपुग्छन् । अनि त्यहाँको फड्के तरेर थप २० मिनेट उकालो हिँडेपछि मात्र उनीहरू विद्यालय पुग्छन् ।
विद्यार्थीको बनेको पछिल्लो दैनिकी भोटेकोशी बाढीले त्यहाँका विद्यार्थीलाई दिएको सास्तीको नमूनाका रूपमा रहेको छ । ती विद्यार्थीले खेप्नुपरेको सास्ती, थकाइलाग्दो र जोखिमपूर्ण यात्रा स्वयं शिक्षक र शिक्षिकाका लागि एउटा कथाजस्तै बनेको छ । तर त्यो दन्ते कथा नभई भोटेकोशी बाढीले उत्पन्न गरेको बास्तविकता हो शिक्षिका थापा भन्छिन् ।
शिक्षा आर्जनका लागि दैनिक रूपमा यति ठूलो जोखिम मोल्नुपर्ने बाध्यतालाई तीन तहका सरकारले समयमै मनन गरी सम्बोधनका लागि ठोस कदम चाल्न उनको सुझाव छ ।






















