Opens in a new tab

समाज

यस पटकको बाढीमा जोगियोको सुस्ता: समयमै सुरक्षाकर्मी र स्थानीयको तत्परता

नवलपुर टुडे
२०८३ अशोज १४ | बिहान ०९:०६ बजे
तस्बिर : सुस्ताबासी

नवलपरासी, असोज १४ ।अविरल वर्षासँगै उग्र बनेको नारायणी नदीको बाढीले यस पटक पनि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तालाई जोखिमको घेरामा पार्यो । तर, अन्य वर्षहरूको तुलनामा यस पटकको दृश्य भने फरक देखियो । बाढीको विपत् घट्नुअघि नै सबै सुरक्षा निकाय र स्वयं सुस्तावासीको सहकार्य तथा तत्परताका कारण करिब ११ सय सुस्तावासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी ठूलो सम्भावित क्षतिबाट जोगाउन सफलता मिलेको छ।

समयमै भएको उद्धार र सुरक्षित स्थानान्तरणकै कारण यस पटकको भीषण वर्षामा पनि सुस्ताबासी जोगिन सफल भएका हुन्।

बाढीको जोखिम उच्च बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, सशस्त्र प्रहरी बल २६ नं. गण नवलपरासीका  प्रमुख  गोबिन्द  बहादुर खत्री तथा प्रहरी नायब उपरीक्षक मदन थापा केसी आफैँ फिल्ड (सुस्ता) मै पुगेर उद्धार कार्यमा खटिनुभएको थियो । सुरक्षा निकायका प्रमुखहरू आफैँ अग्रपंक्तिमा रहेर उद्धारमा जुटेपछि स्थानीयवासीमा नयाँ आशा र हौसला थपियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सुस्ताका स्थानीय बासिन्दा काँधमा काँध मिलाएर खटिएपछि जोखिममा परेका बालबालिका, वृद्धवृद्धा तथा महिलाहरू सहित आम नागरिक लाई सुस्ता वारीस्थित बीपी माध्यमिक विद्यालयको भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरियो।  विपत्को घडीमा सुरक्षा निकायले खेलेको यो द्रुत र प्रभावकारी भूमिकाप्रति अहिले सिङ्गो सुस्तावासी गौरवान्वित बनेका छन्।

सुस्तावासी रवीन्द्र जयसवाल भन्नुहुन्छ, “बाढी बढ्दै जाँदा हामी निकै डराएका थियौँ । तर सुरक्षा प्रमुखहरू नै आफैँ फिल्डमा आएर खटिनुभएको देख्दा ठूलो ढाडस मिल्यो। समयमै उद्धार नभएको भए ठूलो दुर्घटना हुन सक्थ्यो। सुरक्षाकर्मी साथीहरूको यो योगदानप्रति हामीलाई गर्व छ।”

त्यस्तै अर्का सुस्तावासी मुन्सी कुमारले भन्नुभयो, “आपत्कालीन समयमा सुरक्षा निकाय र सुस्तावासीको जुन सहकार्य देखियो, त्यसैका कारण आज हामी जोगिएका छौँ। सुरक्षाकर्मी र गाउँलेको संयुक्त प्रयासले ठूलो क्षति हुन दिएन। समयमै भएको स्थानान्तरण हाम्रा लागि वरदान साबित भयो।”

कमेन्टहरु