Opens in a new tab

बाढी/पहिरो

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

रासस
२०८३ अशोज १४ | बिहान ०९:०६ बजे
बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ। बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। दरमखोलाको कटानले गलकोट नगरपालिका-९ को वडा कार्यालय बगाएको छ। तीनवटा झोलुङ्गे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युतमा आंशिक क्षति, एक विद्यालय,  एक रिसोर्ट र  एक कृषि फार्ममा क्षति पुगेको छ भने २५६ वटा पशुचौपाया क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन्।

निसीखोला-४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्। पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ। निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रशासनले जनाएको छ।

तमानखोला-३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड -९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ।

ढोरपाटन -७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। तमानखोला-४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला-१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

यस्तै गलकोट-१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बागलुङ नगरपालिका-३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला – १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ। बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाइले जानकारी दिए।

बाढीपीडितलाई गाउँपालिकाको राहत

बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाभित्र मानवीय तथा भौतिक क्षति पुर्याएपछि गाउँपालिकाले तत्कालै नगद तथा खाद्यन्न राहत उपलव्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए।

गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो। गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले राहत उपलब्ध गराइएको छ।

पाँच जना मृतकको परिवारलाई रु ५० हजारका नगद राहत उपलब्ध गराइएको थियो भने घरमा क्षति भएका २४ परिवारलाई रु ३० हजारका दरले र घरमा आंशिक क्षति भएका २१ परिवारलाई रु १० हजारका दरले सहयोग प्रदान गरिएको छ। निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ भने २१ जनाको घर उच्च जोखिममा रहेको छ। साथै चामाल तथा त्रिपालसमेत प्रदान गरिएको छ।

कमेन्टहरु