देश

काठमाडौंको शंकरापुरमा बन्द कोठाभित्र एक दम्पत्ती मृत भेटिए

जगत ठाडा मगर
२०७८ माघ १३ | मध्यान्ह ०२:१० बजे

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३, बोजेनीमा एक दम्पत्ती बन्द कोठाभित्र मृत भेटिएका छन् । ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएका हुन् ।

बुधबार राति खाना खाएर सुतेका उनीहरु आज बिहान ७ बजेसम्म पनि नउठेपछि जेठा छोरा २६ वर्षीय सूर्यबहादुर थिङले ढोका फुटाएर भित्र छिर्दा आमाबाबु मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरेका थिए । खबर प्राप्त हुनासाथ प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए ।

उनीहरूको राति नै निस्सासिएर मृत्यु भएको हुनसक्ने अधिकृतहरुको अनुमान छ । प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो । डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटकहरु नभएको र निस्सासिएरै मृत्यु भएको हुनसक्ने आकलन गरेका छन् ।

मृत्युको विस्तृत कारण भने पोष्टमार्टमपछि चिकित्सकले दिने प्रतिवेदनमा उल्लेख हुनेछ । थप अनुसन्धान जारी रहेको एसपी मैनालीले बताए ।

कमेन्टहरु