देश

जनकपुरमा मधेस सहिद गेटको निर्माण कार्य अन्तिम चरणमा

जगत ठाडा मगर
२०७८ मंसिर १९ | मध्यान्ह ०२:०८ बजे

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माण भइरहेको सहिद गेटको निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियास्थित धनुष आकारमा बन्नलागेको मधेश सहिद गेटमा रङ्ग लगाउने, भगवान राम र शहिदको प्रतीमा स्थापना गर्नुबाहेक अन्य काम सकिएको छ । ठेकेदार कम्पनी महतो कन्ट्रक्सनका सञ्चालक उमेश साहकाअनुसार जनकपुरधाम उपमहानगरपालिकाको करिब तीन करोड रुपियाँ लगानीमा सहिद गेट निर्माण हुन लागेको हो ।

जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ अषाढ २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुष मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्त्ररण गर्नुपर्ने सम्झौता छ । तर ठेकेदार पक्षले ठेक्का अवधिभन्दा एक महिना अगाडि मङ्सिर मसान्तमै निर्माणकार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्त्ररण गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिएको छ । पर्यटकीय तथा धार्मिक नगरीको रुपमा समेत चिनिएको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रवेश गरेको अनुभूति दिलाउने गरी गेट धनुष आकारमा बनिरहेको छ ।

गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतीमा र तीन वटा पिलरमाथि सहिद निक्कु यादव, सन्जय चौधरी र दिलिप यादवको प्रतीमा राखिने बताइएको छ । त्यसैगरी गेटको दुबै किनारमा मधेश आन्दोलनमा शहिद भएकाहरुको चित्र राखिने छ । प्रतीमाहरु बनाउने काम तीब्ररुपमा भइरहेको छ ।

सम्भवत् यो महिनाको अन्तिम साता प्रतिमा स्थापना गरिसक्छौं, महतो कन्ट्रक्सनका सञ्चालक साहले भन्नुभयो । स्थानीय तहमा निर्वाचित भएलगत्तै जनकपुरधामका नगरप्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेश आन्दोलनका सहिदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा गेट निर्माण गर्ने निर्णय भएको बताउनुभयो ।

२०७७ अषाढ २० गते नगरप्रमुख साहले शहिद गेटको शिलान्यास गर्नुभएको थियो । गेट निर्माणका लागि उपमहानगरपालिकाले चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ । ‘तीन करोडमा ठेक्का लागेको छ । अन्य भ्याटबिलसहित चार करोड खर्च हुने अनुमान उपमहानगरपालिकाले गरेको छ ।

कमेन्टहरु