देश

कांग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

जगत ठाडा मगर
२०७८ मंसिर १६ | बिहान १०:०८ बजे

काठमाडौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । बिहीबार ललितपुरमा काँग्रेस प्रचार-प्रसार समितिले पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो ।

१४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र प्रयोग हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डप, पुलिस क्लब र राष्ट्रिय सभा गृहमा मतदान केन्द्र बनाइने छ । एक जनालाई मत गर्न ४५ मिनेटदेखि १ घण्टा समय लाग्नसक्ने अनुमान शर्माको छ ।

प्रदेश अधिवेशन सकिएपछि नेताहरूबिच सहमति विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सकिने उनको भनाई छ । सहमति नभए निर्वाचन हुने शर्माले बताए । सभापति शेरबहादुर देउवाले ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । काँग्रेस प्रवक्ता शर्माकाअनुसार काठमाडौँमा सार्वजनिक ठाउँमा र सञ्चार मध्यमबाट प्रचार प्रसार गरिने छ ।

काँग्रेसको “उत्साह, एकता, रूपान्तरण सफल बनाऔँ काँग्रेसको १४ औँ महाधिवेशन” भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उदघाटन हुदै छ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

कमेन्टहरु