एमालेको १०औं महाधिवेशनमा सहभागी हुन चितवन गएका सप्तरीका भगलु सदाको मृत्यु


राजविराज, १६ मंसिर । एमालेको १०औं महाधिवेशनमा सहभागी हुन चितवन गएका सप्तरीको सुरुंगा नगरपालिका वडा नम्वर ३ बस्ने ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । गाउँको नेताहरूसँग चितवन गएका उनको दुवै खुट्टा भाँचिएको अवस्थामा मृत्यु भएको थियो ।
पारिवारिक स्रोतका अनुसार भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका स्थानीयहरुको भनाई छ । दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए । तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूले विरोध गरेपछि रोकिएको उनका छिमेकीले बताए ।
भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् । पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।






















